कसूरअनुसार सजाय भोग्नु त कानुनी शासनको नियम नै हो । तर, कसूरबिना नै ९–९ महिनासम्म जेल बस्नुपर्दा कति पीडा होला निर्दोषलाई ? यसरी नै जेल बस्नुपर्दा कम्ता पीडा भएको छैन सुनकोसी गाउँपालिका– ६, थुम्पाखर, सिन्धुपाल्चोकका रेशमबहादुर पाख्रिनलाई । अझ त्यो पनि बलात्कारको आरोपमा ।
१३ कात्तिक, २०७५ मा एक अपरिचित महिलाले उनीविरुद्ध बलात्कारको आरोपमा महानगरीय प्रहरी परिसर ललितपुरमा मुद्दा दर्ता गराइन् । त्यसको १४ दिनपछि (२७ कात्तिकमा) प्रहरीले पाख्रिनलाई जावलाखेलको एक रेस्टुरेन्टबाट पक्रियो । तत्कालीन प्रहरी नायक उपरीक्षक नारायण चिमौरियाको निर्देशनमा खटिएको प्रहरी टोलीले बलात्कारको आरोपमा ती महिलाले दिएको जाहेरी पढेर सुनाएपछि उनलाई छाँगाबाट खसेजस्तै भयो ।
जाहेरीमा १ असोज, २०७५ मा दिउँसो साढे दुई बजे ललितपुर महानगरपालिकाको ज्वागल हुँदै कुसुन्ती जाने क्रममा पाख्रिनले स्कारपियोमा राखेर कुसुन्ती पुर्याइदिने भन्दै कुपण्डोलस्थित कार्यालयमा लगी करणी गरेको आरोप लगाइएको थियो । करणीको भिडियो समेत बनाएको भन्दै उनले किटानी जाहेरी दिएकी थिइन् । त्यति मात्र होइनm पछि पनि पटक–पटक र अन्तिम पटक असोज ६ मा बलात्कार गरेको दोष उनले लगाएकी थिइन् ।
आरोपी महिलालाई नचिनेको दाबी पाख्रिनले गरे पनि प्रहरीले छाडेन । बरु थुनामै राखेर पाटन अस्पतालमा उनी र महिलाको स्वास्थ्य परीक्षण गरायो । तर, विशेषज्ञ डा. सिर्जना कुँवरको टोलीले जाहेरीवालाको शरीरमा आलो घाउ वा चोटपटक नदेखिएको, अवस्था सामान्य भएको र घटना भएको मितिले एक महिना पछाडि शारीरिक सम्पर्कको कुनै संकेत नभेटिने हुँदा घटना घटे–नघटेको भन्न नसकिने भनी रिपोर्ट दियो ।
दोषी देखिने आधार फेला नपरे पनि उनलाई २४ दिन पुर्पक्षका लागि जेल चलान गरिएको थियो । पाख्रिनले कानुनी उपचार खोजिरहे । एकातिर डा. सिर्जनाको उक्त रिपोर्ट जिल्ला अदालत पाटनमा पेस भयो भने अर्कोतिर पाख्रिनका चालक जय खड्काले आरोप लगाइएको दिन पाख्रिन दिनभर कार्यालय नै नगएको बयान अदालतमा दिए । अन्ततः २४ असार, २०७६ मा जिल्ला अदालत पाटनले पाख्रिन निर्दोष भएको फैसला सुनायो ।
अदालतले उक्त फैसलामा जाहेरी दिने ‘पीडित’ को विवेचित तथ्य र प्रमाणलाई दृष्टिगत गर्दा प्रस्तुत मुद्दामा जाहेरीवालाको कथनबाहेक जबर्जस्ती करणीको वारदाता भएको तथ्य पुष्टि गर्ने वस्तुनिष्ठ प्रमाण नरहेको उल्लेख गरिएको खबर मंगलबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।