सत्ताधारी नेकपाका प्रस्तावित उपाध्यक्ष वामदेव गौतमको निवासमा सभामुख चयनका सन्दर्भमा ‘ओली इतर’ नेताहरूको ‘गोप्य’ जमघट भएको छ । नेकपाभित्र दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमति जुट्न सकस भइरहेका बेला भएको यो बैठकलाई अर्थपूर्ण मानिएको छ ।
भैंसेपाटीस्थित गौतम निवासमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी समितिका सदस्य भीम रावल सहभागी थिए । बैठकमा सहभागी नेताहरूले अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग परामर्श गरेरै उक्त बैठक राखिएको जिकिर गरेका छन् । तर, बुधबार साँझ २ घन्टा चलेको सो छलफलमा ओली स्वयं र उनी पक्षधर भनी चिनिएका नेताहरू ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल भने गएनन् ।
सचिवालय सदस्य गृहमन्त्री रामबहादुर थापा चीन भ्रमणमा छन् । छलफल सभामुख चयन र एमसीसीको विषयमा केन्द्रित भएको स्रोतले जनायो । यसअघि २०७५ माघ १० मा प्रधानमन्त्री ओली विदेश भ्रमणमा रहँदा सचिवालयका बहुमत सदस्यले झम्सिखेलमा यस्तै ‘गोप्य’ छलफल गरेका थिए । त्यसबेला ओलीविरुद्ध ध्रुवीकरणका लागि त्यस्तो छलफल भएको भन्दै ओली पक्षले असन्तुष्टि जनाएको थियो । यसपटक भने सचिवालय सदस्य गौतमको निवासमै नेताहरूले ‘गोप्य’ छलफल गरेका छन् ।
यससम्बन्धी जिज्ञासा राख्दा पार्टीभित्रको आन्तरिक विषयमा सामान्य छलफल भएको प्रतिक्रिया वरिष्ठ नेता खनालले दिएको खबर रामकृष्ण अधिकारीको बाइलाइनमा बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।