पुस १७ गते साँझ करिव साढे ५ बजे । ‘मलाई नमार, गुहार ! गुहार !’ इस्मा गाउँपालिका– ३, दर्लामचौर, तल्लो सिम्पाटाकी ४० वर्षिया मसुरा नेपालीले यी दुई शब्द सुनिन् ।
उनले सुनेका यी शब्द अरु कसैका नभई ७६ वर्षिया कौशिला विकको थियो । उनी हतारिँदै छिमेकी विकको घरमा पुगिन् । रक्ताम्य अवस्था । अनुहार र टाउकामा चोट । उनको मन भावविह्वल भयो । मसुराले सबभन्दा पहिले घरभित्र रहेकी कान्छी बुहारी देवीलाई बोलाइन् । त्यसपछि गाउँका सबै मान्छे जम्मा भए ।
गोठमा गोरु फुकेको र गोरु बाध्ने ठाउँ पछाडि उनी लडेकाले केहीले त गोरुले हानेर लडेको अड्कल पनि गरे । तर, धेरैले यो कुरा पत्याएनन् । मसुराको उपचार तम्घासमा सम्भव नभएपछि पाल्पा रिफर गरियो । पाल्पामा पनि उपचार सम्भव नभएपछि बुटबल रिफर गरियो । तर, बुटबल लैजान रकमको अभाव भयो । परिवारले कौशिलालाई पुनः तम्घास ल्याए । अन्ततः भाडा उठाएर भए पनि बुटबल लैजाने भनियो तर कौशिलाको ज्यान गयो ।
‘चिच्याएको सुनेपछि म आएँ, रक्ताम्य अवस्थामा लड्नुभएको थियो,’ मसुराले भनिन्– ‘गोरुले हानेको भने पनि अवस्था त्यस्तो थिएन ।’ घाइते सासूलाई लिएर उनकी आफ्नै बुहारी देवी पनि उपचारका लागि तम्घास आएकी थिइन् । अस्पतालमा उनले गोरुले हानेको भने पनि डाक्टर र अरू कसैले त्यो कुरा पत्याएनन् । अनि स्थानीय र प्रहरीले उनै देवीलाई निगरानीमा राखे । पहिले पहिले पनि धेरै घटना हुने गरेको, सासू–बुहारीको झगडा परेको जस्ता कारणले प्रहरीले देवीमाथि शंका गर्यो र छानविन प्रक्रिया अगाडि बढायो ।
त्यसै क्रममा मृतक कौशिलाका श्रीमान् शेरबहादुरले घटनाको सम्बन्धमा सत्यतथ्य छानविन गरिपाउँ भनी जिल्ला प्रहरी कार्यालय, गुल्मीमा उजुरी दिए । देवीको बयानका क्रममा लक्ष्मीको पनि नाम जोडिन आएपछि प्रहरीले लक्ष्मीलाई पनि नियन्त्रणमा लिई अनुसन्धान गर्ने बाटो खुल्यो । अनुसन्धान गर्दै जाँदा घाइतेसँगै आएकी उनकी बुहारी देवी र लक्ष्मीका कुरा बाझिए ।
प्रहरीले दुवै जनालाई शंकाको घेरामा राख्यो । शेरबहादुरले पनि दुवै बुहारीका विरुद्ध प्रहरी कार्यालयमै किटानी जाहेरी दिए । त्यसैको आधारमा प्रहरीले पुस २० मा दुई बुहारी देवी र लक्ष्मीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी मिनबहादुर घलेले जानकारी दिए ।
यसरी भयो हत्या
१७ पुसको दिउँसो कौशिलाकी आफ्नै कान्छी बुहारी देवी र जेठाजुकी कान्छी बुहारी लक्ष्मीले सासू कौशिलाको हत्या गर्ने र गहना लुट्ने योजना बनाउँछन् । योजनाअनुसार लक्ष्मीले गोरु फुकाइन् र चिर्पट (दाउरो) लिएर लुकेर बसिन् । देवीले सासूलाई गोरु फुकेको जानकारी गराउँछिन् ।
फुकेको गोरु समाउन कौशिला जाँदा चिर्पट (दाउरा) ले हानेर भुँइमा लडाउँछिन् । देवीले चाहिँ कोही मानिस आउला कि भनेर बाटातिर हेर्ने काम र्छिन् । कोही नआएपछि उनीहरुलाई गहना लुट्ने समय मिल्यो । अनि दुवै मिलेर बुलाकी, मडाउरीलगायतका गहना लुट्छन् । कौशिलाको ज्यान गएको ठहरपछि लक्ष्मी आफ्नै घरतिर लाग्छिन् भने देवी थाहा नपाए झैं गरी घरभित्र बस्छिन् ।
अन्ततः देवीलाई पनि छिमेकी मसुराले खबर गरेपछि मात्र उनले सासू लडेको देखेको नाटक गरेको प्रहरीको बयानमा उल्लेख भएको खबर हुमाकान्त पोखरेलको बाइलाइनमा शनिबारको राजधानी दैनिकमा प्रकाशित छ ।