सियारी गाउँपालिका– ३, रुपन्देहीका सनी कुमालको ९ वर्षअघि तिलोत्तमा नगरपालिकाकी कान्छी सुवेदीसँग भेट भयो । स्थानीय कारखानामा काम गर्दै आएका सनीको कान्छीसँगको चिनजान माया–प्रेममा परिणत भयो । चिनजानपछि भेटघाट निकै बाक्लिँदै गयो । उनीहरु भैंसी चराउने निहुँमा दिनभर एक–अर्कासँगै बस्न थाले ।
एक–अर्कासँग छुट्टिनै नसक्ने भएकाले विवाह गगर्ने निधो गरे । र, घरबाट भागेर दुवैले विवाह गरे । विवाह गरेको दुई वर्षसम्म त दुवैबीचमा कुनै समस्या थिएन । तर, छोरो जन्मिएको करिव डेढ वर्षपपछि भने दुवैबीच विवाद हुन थाल्यो ।
सधैं पारिवारिक कलहबाट दिक्क भएका सनी छोरा र श्रीमतीको माया मारेर भारत छिरे । भारत गएपछि उनी सात वर्षसम्म कसैको सम्पर्कमा आएनन् । कान्छी भने छोरालाई लिएर माइतीमा बस्दै आएकी थिइन् ।
सनी एक्कासि घर फर्किए । ‘सात वर्षसम्म चेन्नइमा बसें, छोरो र श्रीमतीको माया लागेपछि घर फर्किएँ,’ सनीले भने– ‘पहिलो दिन नै सासूसँग कुराकानी गरेर श्रीमती पठाइदिन अनुरोध गरें । पढ्दै गरेकाले छोरो हजूरआमासँगै बस्यो । भोलिपल्ट श्रीमतीलाई भने आफ्नै साथमा ल्याएँ ।’ त्यसपछि कान्छी र सनी भाडामा बस्दै आए ।
उनीहरु सँगै बस्न थालेको दुई महिना जति भएको थियो । पुस २२ मा सधैं झैं सनी साँझ कामबाट घर फर्किए । कान्छीले खाना पकाइरहेकी थिइन् । शरीर थाकेकाले मदिरा सेवन गरेर मात्रै खाना खाने निधो उनले गरे । पत्नीलाई मदिरा ल्याउन लगाएर खान बसे । मदिरा खाइसकेपछि दुवै जना सपरिवार खाना खान बसेका थिए । ‘हामी भर्खर खाना खान लागेका थियौं । कान्छी एक्कासि बाहिर गइन् । खाना पस्किन छाडेर तीन–चार पटक भित्र–बाहिर गरेपछि मलाई शंका लाग्यो र हेर्न बाहिर गएँ’– सनीले प्रहरीसँगको बयानमा भने ।
त्यसपछि के भयाे ?
बिरामी भइन् कि भन्ने आशंकाले बाहिर निस्केका सनीका होसहवास घर नजिककैको बारीको दृश्यले उड्यो । ‘म सात वर्षसम्म घर नआउँदा पनि उनले अर्को बाटो रोजिनन्, मेरै पर्खाइमा रहिछन् भन्ने लागेर निकै गौरवान्वित भएको थिएँ तर त्यो साँझको दृश्यले मेरा सबै सपना चकनाचूर भए’– उनले भने ।
सनीका अनुसार आफू बाहिर निस्केपछि गाउँकै एक जना पुरुषसँग कान्छी लिप्टिएकी थिइन् । दुवै जना एक–अर्कालाई चुम्बन गरिरहेका थिए । सनी बाहिर आएको थाहा पाएपछि ती युवक फरार भए । ‘भातको थाल छाडेर बाहिर आउँदा देखिएको दृश्यले आफूलाई सम्हाल्न गाह्रो भो । कान्छीलाई समातेर घरभित्र ल्याएँ र हथौडाले टाउको र छातीमा प्रहार गरेर हत्या गरें’– प्रहरीसँग सनीले भने ।
घटनालगत्तै अभियुक्त सनी कुमाललाई प्रहरीले पक्राउ गरेको थियो । श्रीमतीलाई आफूले नै मारेको उनले स्वीकारिसकेको खबर सलमान खानको बाइलाइनमा आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।