सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र सभामुख चयन गर्न रस्साकस्सी जारी नै छ । शीर्ष नेतृत्वको आ–आफ्नै अडानका कारण एक महिनादेखि संसद् बैठक समेत सञ्चालन हुन सकेको छैन । सभामुखको उम्मेदवार टुंगो लाग्न नसक्दा संसदको बैठक तेस्रो पटक स्थगित भएको छ ।
तर, यस्तो अन्योलको अवस्थामा सरकारले भने सभामुख बस्ने निवासको टुंगो लगाएको छ । संसद् सचिवालयकी एक महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा तत्कालीन सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि जेल चलान गरिएपछि राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना बालुवाटारस्थित सभामुख निवासमा सरेका छन् ।
नयाँ सभामुख चयन प्रक्रिया अगाडि बढेसँगै सहरी विकास तथा भवन निर्माण विभागले सभामुखका लागि अर्को निवास तयारी अवस्थामा राखेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई मन्त्री निवास पुल्चोकस्थित सरकारी क्वार्टरमा सारेर सभामुखका लागि निवास तयारी अवस्थामा राखिएको हो ।
लैनचौरस्थित गैह्रीधारामा रहेको सरकारी निवास खालि गराएर नयाँ सभामुखका लागि तयारी अवस्थामा राखिएको सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले जानकारी दिएको खबर सोमबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।