सभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा नदिए पार्टीले चाहेर पनि उनलाई पदबाट हटाउन वा कारबाही गर्न नसक्ने अवस्था देखिएको छ । उपसभामुख रहेकै कारण उनी दलको ह्वीप र निर्देशनभन्दा बाहिर छिन् । भविष्यमा पार्टीको राजनीतिमा आइपर्ने अप्ठ्याराबाहेक तत्काललाई उनले नचाहेसम्म उपसभामुख पद जाने सम्भावना छैन ।
नेकपाले राजीनामा गर्न दिएको निर्देशन उनले नमानेपछि उब्जिएको प्रश्न हो– पार्टीले उनलाई कारबाही गर्न सक्छ ? सांसद पदबाट निकाल्न सक्छ ? कानुनले भन्छ– उपसभामुख भएपछि दलको साधारण सदस्य पनि नरहेकी उनीमाथि पार्टीले कारबाही गर्न सक्ने अवस्था छैन ।
राजनीतिक दलसम्बन्धी ऐनले पार्टीले लगाएको ह्वीप उल्लङ्घन गरेको अवस्थामा पनि सभामुख–उपसभामुखलाई कारबाही गर्न नसकिने व्यवस्था गरेको छ । संविधानमा व्यवस्था भएको ‘पदीय आचरण अनुकूल’ को काम नगरेको भन्ने व्यवस्थाअन्तर्गत उनलाई महाभियाेग लगाएर उपसभामुखबाट हटाउन प्रतिनिधिसभाको दुईतिहाई मतबाट मात्र सम्भव छ तर यसका लागि नेकपासँग दुईतिहाई छैन । त्यसमाथि उनले पदअनुकूल आचरण नगरेको ठोस आधार समेत छैन ।
यी सबै कानुनी प्रावधान बुझेकाले नै हुन सक्छ, तुम्बाहाङ्फेले भन्दै आएकी छन्– ‘राजीनामा दिन्नँ, मलाई महाभियोग लगाएर हटाउनुहोस् ।’ सभामुख निर्वाचनको गत्यावरोध र उपसभामुखको ‘अडान’ सम्बन्धी यो खबर मंगलबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।