newskoseli.Com

काश्मिरमा ६२ को मृत्यु, ५३ घाइते, २८ बेपत्ता

पाकिस्तान नियन्त्रित काश्मिर क्षेत्रमा वर्षा र हिमपातसँगै भएका घटनामा परी कम्तिमा ६२ जनाको मृत्यु भएको छ भने ५३ जना घाइते भएका छन् र २८ जना हराइरहेका छन् । त्यहाँका अधिकारीहरुले मंगलबार सोबारे जानकारी दिएका हुन् ।

अधिकारीहरुका अनुसार ५८ वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने अरु ८२ वटा घरमा पनि आंशिक क्षति भएको छ । घटनास्थलबाट थप विवरणहरु आउने क्रम जारी रहेको र खोजी तथा उद्धार कार्य पनि भइरहेको प्रकोप व्यवस्थापन कार्यालयका अधिकारीहरुले जनाएका छन् ।

हिमपात र वर्षाको सबैभन्दा धेरै असर नीलम उपत्यकामा परेको छ । त्यस क्षेत्रमा मात्रै ५९ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । अधिकारीहरुका अनुसार नीलम उपत्यकामा मात्रै ५३ जना घाइते भएका छन् भने ५० भन्दा बढी घरहरु क्षतिग्रस्त भएका छन् । हराइरहेका २८ जनाको पनि खोजी भइरहेको प्रकोप व्यवस्थापन कार्यालयका अहमद राजा क्वाद्रीले जानकारी दिए । मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने उनले बताए ।

काश्मिरमा कयौं हिउँपहिरो गएका विवरणहरू आएको उनको भनाइ छ । वर्षा र हिमपात भएको क्षेत्रका प्रमुख सडक र सञ्चार पूर्वाधार अवरुद्ध भएका छन् । कयौं मानिस विभिन्न ठाउँहरुमा फसेको जनाइएको छ । उक्त क्षेत्रमा विगतमा पनि बेला–बेला प्राकृतिक विपद् आइपरिरहने भए पनि यस पटकको विपद् निकै घातक भएको छ ।

खराब मौसमले पाकिस्तानका अन्य भागमा दर्जनौंको ज्यान गएको र छिमेकी मुलुक भारत, अफगानिस्तानलगायतका देशहरुमा पनि प्रभाव परेको समाचारमा जनाइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर