केन्द्रीय नेताहरू धमाधम पक्राउ पर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले तल्ला तहका नयाँ अनुहारका नेतालाई फिल्डमा खटाउन थालेको विश्लेषण सरकारी सुरक्षा संयन्त्रले गरेको छ । शीर्ष तहका नेताहरू धमाधम पक्राउ पर्ने र पक्राउपछि अन्य पार्टीमा प्रवेश गर्ने क्रम बढेपछि ‘प्रतिबन्धित’ दल नेकपाले रणनीति बदल्दै तल्ला तहका नयाँ अनुहारलाई फिल्डमा खटाउन थालेको विश्लेषण सुरक्षा संयन्त्रले गरेको हो ।
यसअघि भने पक्राउपछि पार्टी छाडेकालाई सो पार्टीले धमाधम कारबाही गर्दै आएको थियो । नेपाल प्रहरीको पछिल्लो तथ्यांकअनुसार सरकारले विप्लव नेकपाका गतिविधिमाथि ‘प्रतिबन्ध’ लगाएयता १० महिनाको अवधिमा १ हजार २ सय ६५ जना नेता–कार्यकर्ता पक्राउ परिसकेका छन्, जसमध्ये केन्द्रीय तहका नेताको संख्या मात्रै २ सय ५९ छ । केन्द्रीय तहका नेताहरू धमाधम पक्राउ पर्न थालेपछि विप्लव नेकपाले तल्ला तहका नयाँ अनुहारलाई फिल्डमा परिचालन गर्न थालेको सूचना आएको उच्च तहका एक सुरक्षा अधिकारीले बताए ।
‘पहिलो वरीयताका नेता धमाधम पक्राउ पर्न थालेपछि तल्ला तहका नयाँ अनुहारलाई परिचालन गरिएको भन्ने सूचना आएको छ, केही घटनाक्रमहरूबाट त्यस्तो देखियो’– ती अधिकारीले भने । सरकारी सुरक्षा संयन्त्रअन्तर्गत प्रहरीको विशेष ब्युरो, महानगरीय प्रहरीको इन्टिलिजेन्स शाखा, सशस्त्र प्रहरी बलको इन्टिलिजेन्स शाखा र नेपाली सेनाको डिर्पाटमेन्ट अफ मिलिट्री इन्टिलिजेन्सबाट समेत मुलुकको सुरक्षाका विषयमा विश्लेषण हुँदै आएको छ ।
‘प्रतिबन्ध’ यता हालसम्म पक्राउ पर्ने केन्द्रीय तहका नेताहरूमा स्थायी समितिका सदस्य हेमन्तप्रकाश ओली, मध्यपश्चिम कमान्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजंग’, पोलिटब्युरो सदस्य भरतबहादुर बम, मोहनबहादुर कार्की ‘जीवन्त’, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष तथा पार्टी केन्द्रीय सदस्य बन्धुकुमारी चन्द ‘शिला’ लगायत छन् । कार्की सत्ताधारी नेकपामा प्रवेश गरिसकेका छन् ।
यस बीचमा करिव एक सयभन्दा बढी विप्लव नेकपका नेता–कार्यकर्ता सत्तारूढ र अन्य पार्टीमा प्रवेश गरेका छन् । करिव दुई दर्जन नेता–कार्यकर्ताले विज्ञप्ति निकालेरै स्वतन्त्र रूपमा रहेको बताउँदै आएका छन् भने केहीले पक्राउपछि आत्मसमर्पण समेत गरेका छन् । पोलिटब्युरो सदस्य रहेका कार्की २६ पुसमा मात्रै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन् । उनलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपामा प्रवेश गराएका थिए ।
सरकारले अघिल्लो फागुनमा ‘प्रतिबन्ध’ लगाएपछि पक्राउ परेर थुनामा रहेका कार्की केही समयअघि मात्रै रिहा भएका थिए । नेकपाले पार्टीका पोलिटब्युरो सदस्य रहेका नेता पदम राईलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेपछि उनी पनि सत्तारूढ नेकपामा प्रवेश गरिसकेका छन् । यसैगरी, पूर्वसभासद किरणकुमार राई समेत सत्तारूढ नेकपा प्रवेश गरेको खबर महेश्वर गौतमको बाइलाइनमा आइतबारको राजधानी दैनिकमा प्रकाशित छ ।