आउँदो गणतन्त्र दिवसको दिन अर्थात् १५ जेठ, २०७७ देखि सर्वसाधारणका लागि गणतन्त्र स्मारक खुला गरिने भएको छ । सरकारले नारायणहिटी दरबार संग्राहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिलाई स्मारक हस्तान्तरण गरेपछि १२औं गणतन्त्र दिवसका दिन सो स्मारक खुला गर्ने तयारी सुरु गरिएको हो ।
निर्माण सम्पन्न भएको ७ वर्षपछि हस्तान्तरण भएको स्मारकलाई व्यवस्थापन गर्न कम्तिमा पनि तीन महिना लाग्ने भएकाले सोहीअनुसार तयारी सुरु भएको समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले बताए । सहरी विकास तथा भवन निर्माण विभागले २०६९ चैतदेखि गणतन्त्र स्मारक निर्माण गर्न सुरु गरेको खबर ईश्वरराज ढकालको बाइलाइनमा आइतबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।