संघीय प्रतिनिधिसभाको सभामुख पदमा पूर्वमाओवादी नेता अग्निप्रसाद सापकोटाको उम्मेदवारीले नेकपामा समीकरण फेरिएको संकेत गरेको छ ।
डेढ वर्षयता पार्टी एकतादेखि मन्त्रिपरिषद् हेरफेरलगायतका विषयमा अन्य नेताले आक्कलझुक्कल विरोध गरे पनि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले भनेकै लाइनमा निर्णय हुँदै आएका थिए । यस पटक पनि सभामुख पद रिक्त भएपछि ओलीले आफूले चाहकै व्यक्ति ल्याउने कोसिस गरे । त्यसका लागि उनले आफ्ना विश्वासपात्र पूर्वसभामुख सुवास नेम्वाङलाई अघि सारे ।
तर, झन्डै एक महिनाको रस्साकस्सीपछि आइतबार प्रधानमन्त्री तथा अध्यक्ष ओली अग्नि सापकोटालाई सभामुख बनाउने प्रस्तावमा सहमत भए र पार्टीले सोहीअनुसार निर्णय लियो । यो निर्णयको सन्देश के हो ? नेकपाका एक उच्च नेताले भने– ‘पार्टीमा अब ओलीले भनेको मात्र चल्दैन ।’ पार्टीभित्रको समीकरणमा अप्ठ्यारोमा परेपछि पूर्वमाओवादी पक्षले अघि सारेको नाममा सहमत हुन ओली बाध्य भएका हुन् ।
पूर्वएमाले पक्षकै वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल तथा प्रस्तावित उपाध्यक्ष वामदेव गौतमले अर्का अध्यक्षलाई साथ दिए । गौतम निवास भैंसेपाटीमा पुस २३ मा सचिवालयका ९ मध्ये ५ नेताहरुले छुट्टै भेला गरेका थिए । भैंसेपाटी गठबन्धन सभामुख चयनका सन्दर्भमा टसमस नहुने अवस्था बनेपछि आइतबार ओली पार्टीभित्रको मनोविज्ञान सम्बोधन गर्ने निश्कर्षमा पुगे । र, सचिवालय बैठकबाट सपाकोटालाई सभामुख बनाउने निर्णय भएको खबर सोमबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।