चार्ल्स एन्डरसन डानाले पत्रकारिता सिकाउँदै दुई सय वर्षअघि लेखेका थिए– ‘कुकुरले मान्छे टोके समाचार बन्दैन तर मान्छेले कुकुरलाई टोके समाचार बन्छ ।’ तर, उनले कुकुरले कहाँ टोक्यो भनेचाहिँ समाचार बन्छ भनेर चाहिँ लेखेनन् ।
झिमरुक गाउँपालिका– २, बाँदिकोट, प्युठानका एक बालकको लिङ्ग नै कुकुरले खाइदिएका कारण यो विषय समाचार मात्र बनेन, उनी र उनका बाबु–आमाका लागि गम्भीर पीडाको विषय समेत बनेको छ । सन्तोष केसी अहिले १५ वर्षका भए । उनी सात महिनाको बालकै हुँदा कुकुरले उनको लिङ्ग फेदैदेखि खाइदियो ।
केसी अब बालिग हुन थाले, उनको परिवारमा चिन्ता थपिन थाल्यो । गरिब केसी परिवार यतिबेला सहयोगको याचना गर्दै चारैतिर हात फिँजाइरहेको खबर सलिम अन्सारीको बाइलाइनमा सोमबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।