मकवानपुरको दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टका कोठामा सुतेका आठै जना भारतीय नागरिक अर्धचेत अवस्थामा फेला परेका थिए । उनीहरूको शवमा चोटपटक देखिएको छैन । जाडो समयमा परिवारको एउटै कोठामा ज्यान जाने घटना हरेक वर्ष दोहोरिने गरेको छ ।
कोठाभित्र हुने सामूहिक निधनमा मुख्यतः दुई कारण रहने बताउँछन् पोस्टमार्टम गर्ने फरेन्सिकविज्ञ । पहिलो कारण– फुड प्वाइजनिङ हुनु र दोस्रो– निसास्सिनु । ‘झ्याल–ढोका बन्द गरी कोठाभित्र हिटर वा मकल बालेर बस्छन् । तातो वातावरणमा निदाउँछन् र सधैंका लागि निदाउन पुग्छन्’– वरिष्ठ कानुनी चिकित्सक हरिहर वस्तीले भने ।
उनका अनुसार हिटरले अक्सिजन सोस्छ । अक्सिजनको अभावमा कार्बन मोनोअक्साइडलगायतका विषालु ग्यासले कोठा भरिँदा निसास्सिएर ज्यान जान्छ । ‘दुर्घटनाका अन्य कारण छैनन् भने फुड प्वाइजनिङ वा अक्सिजनको अभावले कोठाभित्र मास क्याजल्टीको घटना हुने गरेको छ’– उनले भने ।
त्रिवि शिक्षण अस्पतालको सामुदायिक स्वास्थ्य विभागका डा. खेम कार्कीका अनुसार कोठाभित्र हिटर वा मकलमा दाउरा बालेर सुत्दा विषालु ग्यासले कोठा भरिन पुग्छ । ‘झ्याल–ढोका बन्द गरेको अवस्थामा कोठाभित्र आगो र हिटरका कारण विषाक्त ग्यास निस्किन्छ, त्यसले शरीरलाई शिथिल बनाउँछ । सुतेको व्यक्ति बेहोस हुन्छ र हलचल गर्न नपाउँदै ज्यान जान सक्छ,’ उनले भने– ‘सतर्कता समेत अपनाउन पाउँदैन, सुतेको सुत्यै ज्यान जान सक्छ ।’ भर्खरै भएको एक दुःखद् घटनासम्बन्धी यो खबर बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।