अमेरिकी सहयोग निकाय ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)’ ले दिने ५० करोड अमेरिकी डलर अनुदान स्वीकृत गर्ने–नगर्ने बहसले राजनीतिक वृत्त तातिरहेका बेला सरकारले भने एमसीसीका परियोजना कार्यान्वयन गर्न आयात गर्नुपर्ने सामग्रीको सूची स्वीकृत गरेर त्यससम्बन्धी काम अघि बढाएको छ ।
सूचीमा ७ लाख ५३ हजार अमेरिकी डलर बराबरका सामग्री, उपकरण र सवारी साधन छन् । मिलेनियम च्यालेन्ज कम्याक्ट (सम्झौता) अनुमोदनका लागि संसदमा दर्ता भएसँगै यो अनुदान सहायतालाई लिएर सत्तारुढ दल नेकपाभित्र तीव्र मतभेद छ । पार्टीभित्र रहेको मतभेदकै बीच सरकारले एमसीसीअन्तर्गतका परियोजनाका लागि आयात गर्नुपर्ने सामग्रीको सूची स्वीकृत गरेको हो ।
सन् २०१७ सेप्टेम्बर २० मा भएको सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ मा एमसीसीका आयोजनाका लागि आयात गरिने वस्तुलाई भन्सार छुट दिने उल्लेख छ । अर्थ मन्त्रालयले सोहीवमोजिम एमसीसीका परियोजनाका लागि पैठारी गर्नुपर्ने सामग्रीको सूची स्वीकृत गरी छुट दिन भन्सार विभागमा पठाएको छ ।
परियोजना कार्यान्वयन गर्न स्थापित ‘मिलेनियम च्यालेन्ज एकाउन्ट, नेपाल’ (एमसीए, नेपाल) ले पेस गरेको मुख्य सूचीमा रहेका सामग्री, उपकरण र सवारी साधनको आयातमा भन्सार महशुल छुट हुनेछ । पुस २४ मा एमसीए नेपालले मुख्य सूचीका सामग्री भन्सार छुटमा आयात गर्न माग गरेको खबर पवन तिमिल्सिनाको बाइलाइनमा बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।