काठमाडौंको बसुन्धरास्थित ११ रोपनी सरकारी जग्गा व्यक्तिले कब्जा गरेर उपभोग गरिरहेको पाइएको छ । बसुन्धरास्थित इशान बाल तथा महिला अस्पतालसँगै रहेको ११ रोपनी सरकारी जग्गा व्यक्तिले हडपेर टहरा बनाई भाडा खाइरहेको टोखा नगरपालिकाका कर्मचारीले बताएका छन् ।
उनीहरुका अनुसार यो हर्कतमा स्थानीय ‘जनप्रतिनिधि’ कै मिलेमतो छ । काठमाडौं जिल्ला धापासी, वडा नम्बर ९ (क) (हाल टोखा नगरपालिका– ५) को कित्ता नम्बर १८को क्षेत्रफल ४ रोपनी ९ आना, कित्ता नम्बर १९ को क्षेत्रफल २ रोपनी ८ आना ८ दाम र कित्ता नम्बर २८ को क्षेत्रफल ३ रोपनी ८ आना सरकारी जग्गा अतिक्रमण गरी घर टहरा बनाएको छ ।
उक्त जग्गामा नाम र वतन बताउन नचाहने केही व्यक्तिले कवाड संकलन गरी गोदामका रुपमा प्रयोग गरेर ठूलो कारोबार गरिरहेको भन्दै स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी समेत गरेको खबर सुनील सापकोटाको बाइलाइनमा बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।