राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) भित्र सरकारमा जाने कि नजाने भन्ने विषयलाई लिएर गम्भीर मतभेद उत्पन्न भएको छ । पार्टीभित्र आन्तरिक छलफल र निर्णय नै नगरी पार्टी सरकारमा जान खोजेको भन्दै नेताहरूले असन्तुष्टि जनाएका छन् ।
असन्तुष्ट नेताले तत्काल पार्टीको राजनीतिक समिति र पदाधिकारी बैठक बोलाउन नेतृत्वसँग माग गरेका छन् । करिव एक वर्षदेखि राजपाको राजनीतिक समिति र पदाधिकारी बैठक बस्न सकेको छैन । साढे दुई वर्षदेखि राजपाका केन्द्रीय समितिको बैठक पनि बसेको छैन । राजपाको जीवनमा एक पटक मात्र केन्द्रीय समितिको बैठक बसेको छ, त्यो पनि निर्वाचनामा पार्टी दर्ता गर्ने प्रयोजनमा मात्र ।
२०७४ भदौयता राजपाको केन्द्रीय समितिको बैठक बसेको छैन । अहिले राजपाभित्र हरेक निर्णय पार्टीका ६ अध्यक्ष एक ठाउँमा बसेर गर्ने गरेका छन् । यहाँसम्म कि विधान संशोधन गर्ने अधिकार समेत अध्यक्षमण्डलका सदस्यलाई नै छ । माघ ९ मा भएको राष्ट्रियसभा निर्वाचनमा नेकपासँग चुनावी तालमेल गर्ने निर्णय पनि राजपाको अध्यक्षमण्डलको बैठकबाट नै गरिएको थियो ।
राजपाका केही असन्तुष्ट नेताले नेकपासँग चुनावी तालमेल गरेकामा पनि असन्तुष्टि पोखेको खबर भुवन शर्माको बाइलाइनमा आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।