सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच उपसभामुख पदमा राष्ट्रिय जनता पार्टी (राजपा) लाई समर्थन गर्ने सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान भएको दुई अध्यक्षबीचको छलफलमा रिक्त उपसभामुख पद राजपालाई दिने सहमति भएको हो ।
संसदको बैठक बस्नुअघि दुई अध्यक्षबीच उपसभामुख पदमा राजपालाई समर्थन गर्ने सहमति भएको बालुवाटार स्रोतले जनाएको छ । राष्ट्रियसभा निर्वाचनमा नेकपाले प्रदेश– २ मा राजपासँग चुनावी तालमेल गरेको थियो । त्यसपछि भएको सभामुख निर्वाचनमा नेकपाबाट उम्मेदवार बनेका अग्नि सापकोटाको समर्थक राजपा नेता लक्ष्मणलाल कर्ण बसेका थिए ।
९ माघमा भएको राष्ट्रियसभाको निर्वाचनमा राजपाले नेकपालाई इमानदारीपूर्वक भोट हालेका कारण पनि उपसभामुख राजपालाई दिन नेकपाका दुई अध्यक्ष सहमत भएको खबर सोमबारको नगरिक दैनिकमा प्रकाशित छ ।