औरही गाउँपालिका– २, सिरहामा एक श्रीमानले श्रीमतीलाई पेट्रोल छर्केर जिउँदै आगो लगाएका छन् । पारिवारिक लेनदेनको विषयमा विवाद हुँदा २१ वर्षीया अनिताकुमारी यादवलाई उनका श्रीमान् विनोद यादवले शुक्रबार साँझ पेट्रोल छर्केर आगो लगाइदिएका हुन् ।
घाइते अनितालाई छिमेकीको सहयोगमा उपचारका लागि परिवारले विराटनगरस्थित म्याक्स अस्पताल पुर्याएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई आइतबार बिहान ३ बजे राजधानीको कीर्तिपुरस्थित अस्पताल ल्याइएको थियो । तर, अस्पताल पुर्याउँदा नै उनको मृत्यु भइसकेको थियो ।
खाना बनाउँदै गर्दा श्रीमान् र श्रीमतीबीच पारिवारिक लेनदेनको विषयमा विवाद भएको र सोही क्रममा विनोदले अनितालाई पेट्रोल छर्किंदा चुल्होबाट आगो सल्किएको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिएको खबर महेश्वर गौतमको बाइलाइनमा सोमबारको राजधानी दैनिकमा प्रकाशित छ ।