प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार साँझ बालुवाटरमा केही दैनिक पत्रिका, ‘ठूला’ सञ्चारगृह र चर्चित भनिएका केही अनलाइन न्युजपोर्टलका सम्पादकहरुसँग छलफल गरे । करिव एक घन्टा लामो सो कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले धेरै पटक सम्पादकहरुलाई हँसाए । उनले भने–
– भैंसेपाटीमा केही साथीहरु बैठक बस्नुभयो तर म त्यसमा थिइनँ भनेर ओली अल्पमतमा पर्यो भनेर तपाईंहरुले लेख्नुभयो, के हामी भर्खर लभ परेका जोडी हौं र प्रेमीले अर्कालाई भेट्यो भनेर ठुस्किने ?
– तपाईं पत्रकारहरु मेराबारे कति लेख्नुहुन्छ, मैले पनि कहिलेकहीं पत्रकारसँग मलाई बुझ्ने मुटु छैन कि क्या हो भनेर गुनासो गर्न नपाउने ? बलिङ भएपछि अलिअलि ब्याटिङ पनि भइहाल्छ नि !
– रिसको झोंकमा एक साथीले अर्कोलाई भन्छ– अहिले मार्दिन्छु । हात पनि उठाउला, तर मार्दैन नि ! पत्रकार र मेरो सम्बन्ध त्यस्तै हो ।
– तपाईंले चाहेजस्तो त परको कुरा, मैले चाहेजस्तो छिटो समेत काम गर्न सकिरहेको छैन, कमिटीमा वर्षौंसम्म गर्दै आएका साथीहरु छन्, मभन्दा पहिला पार्टी चलाएका र प्रधानमन्त्री भएका मित्रहरु छन्, अदब पुर्याएर काम गर्नुपर्यो, समय त लागिहाल्छ नि ।
प्रधानमन्त्रीको ठट्यौलीपूर्ण स्पष्टीकरणको यो खबर बुधबारको नेपाल समाचार दैनिकमा प्रकाशित छ ।