केही घटनाक्रम हेरौं– नेकपाको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत दस्तावेजमाथि छलफल गर्न १५ समूह बने । तीमध्ये साढे ८ समूहका टोलीनेता पूर्वमाओवादी र साढे ६ वटा मात्रै समूहका टोलीनेतामा पूर्वएमाले खुम्चियो । तीमध्ये एउटा टोलीमा दुई नेता चयन गरिँदा आधा–आधाको हिस्सा भएको हो ।
पूर्वएमालेभित्र केपी ओली–माधव नेपालका अलग–अलग ढिक्का, कित्ता ! पेलाई वा अति निषेधपछि बरु नेतृत्व र अवसर प्रचण्डहरुमै जाओस् तर ओलीको एकलौटी नहोस् भन्नेमा माधव समूह पुगेको देखिन्छ । र, अर्को वर्ष हुने भनिएको महाधिवेशनमा पनि यही कुरा प्रकट हुने प्रष्ट देखिन्छ ।
एकजना पूर्वएमाले नेता भन्छन्– ‘प्रचण्डले आफ्नो कोटा जसरी पनि लिन्छन्, केपीले पेल्ने त माधवलाई मात्र हो ।’ किनभने, महाधिवेशनमा १०५९ र १००३ मत बाँडिदा ५६ मतले अध्यक्षमा हारेको र ५५–४५ को अनुपातले पछि परेका कारण पनि केपीले माधवसँग त्यस्तो व्यवहार गरिरहेको ती नेताको ठम्याइ छ ।
एमालेमा मन भाँडिदाको लाभ स्वाभाविक रुपमा पूर्वमाओवादीले लिए, भोलि पनि लिनेछन् । यो शृङ्खला महाधिवेशनसम्म पुग्ने लक्षण देखिँदैछ । त्यसो त केपीले गरेको माओवादीसँगको आकस्मिक एकता पनि आफू सुरक्षित बहुमतमा रहने अभियानको एक हिस्सा थियो भन्ने माधव पक्षको बुझाइ छ ।
कस्तो भने प्रदेश सरकारका मुख्यमन्त्रीदेखि सबै नियुक्तिमा एक पक्षको हालीमुहाली । त्यसपछिका हरेक राजनीतिक नियुक्ति, राजदूत, संवैधानिक अंगका पदाधिकारी, न्यायाधीशदेखि न्यायपरिषद् सदस्यसम्ममा एकलौटी भयो । त्यसले माधव पक्षमा कस्तो मानसिकता निर्माण गर्यो भने केपी ओलीले एकलौटी खानुभन्दा बरु प्रचण्डतिरै सुम्पनु बेस !
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक शक्तिसन्तुलन विश्वेषणसम्बन्धी यो खबर बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित छ ।