newskoseli.Com

‘आफ्नालाई जोगाउने, अरूलाई फसाउने’ : गच्छदारलाई बोक्दै कांग्रेसको आरोप

सरकारले आफ्ना मान्छेलाई जोगाएर प्रतिपक्षी पार्टीका मान्छेलाई फसाउने नियत राखेको आरोप नेपाली कांग्रेसले लगाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार कांग्रेस उपसभापति समेत रहेका पूर्वप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्री, सचिवसहित १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको विषयलाई लिएर कांग्रेसले यस्तो आरोप लगाएको हो ।

पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बिहीबार बसेको कांग्रेस पदाधिकारी बैठकले आयोगलाई गलत ढंगले प्रभावित पारी पूर्वाग्रहपूर्ण र राजनीतिक बदनियतले प्रेरित भई गच्छदारविरुद्ध मुद्दा दर्ता गराइएको आरोप लगाएको हो । कांग्रेसले यही प्रकरणपछि बिहीबारका लागि आह्वान गरिएको केन्द्रीय समितिको बैठक समेत स्थगित गरेको थियो ।

‘बालुवाटार जग्गा प्रकरणमा सूक्ष्म अनुसन्धान गरी कारबाही गर्नुपर्छ भनेर कांग्रेसले सुरूदेखि नै आवाज उठाउँदै आएको हो’, प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार भने– ‘चार दर्जन सदस्य रहेको मन्त्रिपरिषदमा एउटा मन्त्री मात्र कसरी दोषी देखियो ?’

मन्त्रिपरिषदमा मुख्यसचिवले प्रस्ताव पेस गर्ने र प्रधानमन्त्रीको सहमतिबेगर कुनै प्रस्ताव पारित नहुने भन्दै एउटा मन्त्रीलाई दोषी देखाएर मुद्दा लगाउनु राजनीतिक पूर्वाग्रह भएको प्रवक्ता शर्माको भनाइ रहेको खबर रामकृष्ण चापागाईंको बाइलाइनमा शुक्रबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर