newskoseli.Com

सभामुखले बोल्नै दिएनन्, उनीहरू भने बोलिरहे : संसद बैठकको नयाँ बान्की !

प्रतिनिधिसभाको बैठक तेस्रो पटक स्थगित भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको विषयलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बिहीबारदेखि संसद् अवरुद्ध गर्दै आएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले ससंदको कारबाही अघि बढाउनासाथ आइतबार पनि प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध जनाए । त्यसलगत्तै सभामुख सापकोटाले तीन पटक बैठक अवरुद्ध भएकाले सदन सञ्चालनमा सहयोग गर्न आग्रह गरे पनि सम्भव भएन ।

सभामुखमा निर्वाचित भएपछि आफूलाई बधाई दिँदा सदन सञ्चालन निष्पक्ष होस् भनी कांग्रेसका सांसदहरूले दिएको सुझाव स्मरण गर्दै सदन चल्न दिन उनले अनुनयविनय गर्दा पनि कांग्रेसी सांसदहरुले सदनमा हल्ला गरिरहे । तैपनि सभामुख सापकोटा बोल्न छाडेनन्, बोलिरहे ।

‘दुई पटकसम्म सदनमा धारणा राखिसक्नुभयो त्यसैले संवैधानिक आयोगको निर्णय र अदालत प्रवेश गरिसकेको विषयमा संसद् अवरुद्ध गरिरहनुको औचित्य रहँदैन,’ सभामुख सापकोटाले भने– ‘सर्वोच्च जनप्रतिनिधि संस्था भएकाले आफ्नो सरोकार दलका भनाइ राख्नु पनि पर्छ तर दुई दिनसम्म तपाईंहरूले राख्नु पनि भएको छ, जनप्रतिनिधिमूलक थलो संसदलाई गतिशील र चलायमान बनाइराख्नुपर्छ ।’

दुईटा बैठकमा कांग्रेसका सांसदहरूलाई बोल्ने समय उपलब्ध गराएका सभामुख सापकोटाले आइतबार भने बोल्न नदिए पनि कांग्रेस सांसदहरू आ–आफ्नै ठाउँबाट उठेर बोलिरहे । सभामुखले बारम्बार आग्रह गर्दा पनि कांग्रेस सांसदहरूले नटेरेपछि उक्त बैठक माघ २८ सम्मका लागि स्थगित गरेको खबर सोमबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर