newskoseli.Com

ओली–गौतमबीच डेढ घन्टा छलफल : के–के भए कुराकानी ?

प्रधानमन्त्री एवं सत्ताधारी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले बिरामी अवस्थामै उपाध्यक्ष वामदेव गौतमलाई निवासमा बोलाएर भेटघाट गरेका छन् । गौतमलाई आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर ओलीले डेढ घन्टा जति छलफल गरेका हुन् ।

आइतबार बिहानदेखि सामान्य बिरामी भएका कारण प्रधानमन्त्री ओली पार्टीको सचिवालय बैठक र ‘सगरमाथा संवाद’ उदघाटन कार्यक्रममा सहभागी हुन सकेका थिएनन् । तर, अपराह्न राष्ट्रिय योजना आयोग राष्ट्रिय विकास समस्या समाधान समितिको कार्यक्रममा थोरै समय सहभागी भएका थिए । सोही कार्यक्रमपछि बालुवाटार पुगेका ओलीले गौतमलाई बोलाएर पार्टीको उपाध्यक्ष बनेकामा बधाई दिँदै मिठाइ समेत खुवाए ।

भेटमा प्रधानमन्त्री ओलीले गौतमलाई २ नम्बर प्रदेशमा रहेको पार्टीभित्रको विवाद मिलाउन समेत निर्देशन दिएका थिए । पार्टीको जिम्मेवार तहमा रहेको तथा संगठन विभागको प्रमुख समेत भएको हैसियतले पार्टीभित्र देखिएका विवाद साम्य पार्ने दायित्व गौतमको भएको ओलीले बताएको स्रोतले जनाएको छ ।

‘प्रधानमन्त्री केपी शर्मा ओली आइतबार बिरामी भएकाले सार्वजनिक कार्यक्रम सबै रद्द गरिएका थिए, अपराह्न भने राष्ट्रिय योजना आयोगले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुभयो,’ बालुवाटार निकट स्रोतले भन्यो– ‘बेलुकी उपाध्यक्ष गौतमसँग बस्नुभयो र पार्टीका विविध विषयमा कुराकानी भयो ।’

शनिबार नियमित डायलाइसिस गरेका ओली आइतबार दिनभर ‘टाउको दुख्यो’ भनी निवासमै बसेको खबर टपेन्द्र कार्कीको बाइलाइनमा मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर