newskoseli.Com

प्रहरीका १६ अधिकृतले गरे ‘बिदाई बहिष्कार’ : ठाकुर ज्ञवाली बने नयाँ आईजीपी (फोटोफिचरसहित)

सरकारले प्रहरी नायव महानिरीक्षक (डीआईजी) ठाकुरप्रसाद ज्ञवालीलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा बढुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले वरीयता क्रममा १ नम्बरमा रहेका डीआईजी ज्ञवालीलाई आईजीपीमा बढुवा गरेको हो ।

ज्ञवालीलाई बढुवा गर्ने प्रस्ताव गृहमन्त्री रामबहादुर थापाले मन्त्रिपरिषद् बैठकमा पेस गरेका थिए । आईजीपीको दौडमा डीआईजी तारिणीप्रसाद लम्साल पनि थिए । तर, ज्ञवालीलाई आईजीपी बनाउने प्रस्ताव मन्त्रिपरिषदले सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो । आईजीपीमा नियुक्त भएलगत्तै ज्ञवालीले प्रहरी प्रधान कार्यालय पुगेर महानिरीक्षक सर्वेन्द्र खनाललाई बिदाइ गरे ।

खनालसहित ३ एआईजी र १८ डीआईजीले ३० वर्षे सेवा अवधिका कारण मंगलबार अनिवार्य अवकाश पाएका छन् । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र उनीसँगै सेवा प्रवेश गरेका ३ एआईजी पुस्कर कार्की, ठूले राई र धीरु बस्न्यात तथा १८ डीआईजीलाई बिदाइ गर्न मंगलबार बेलुकी प्रहरी प्रधान कार्यालयमा कार्यक्रम आयोजना गरियो ।

कार्यक्रममा प्रहरी प्रधान कार्यालयभित्र निरीक्षकसम्म र उपत्यकामा उपलब्ध एसएसपी तहसम्मलाई आमन्त्रण गरिएको थियो । प्रहरी प्रवक्ता डीआईजी शैलेश थापाले कार्यक्रमको संयोजन गरेका थए । त्यही क्रममा ज्ञवाली महानिरीक्षकमा बढुवा भएपछि सिधै प्रहरी प्रधान कार्यालय पुगे । अवकाश पाउन लागेका आईजीपी खनालसहितका अग्रजको बिदाइ कार्यक्रमबारे सरसर्ती जानकारी लिए ।

बिदाइ कार्यक्रममा अधिकतर अधिकृत अनुपस्थित रहे । ज्ञवाली र थापासँगै डीआईजीहरू मनोज न्यौपाने, महेन्द्र पोखरेल, कमल जिटी र विकास श्रेष्ठ मात्रै उपस्थित थिए । मंगलबारै अवकाश पाएर कार्यक्रममा अनुपस्थित रहेका एक डीआईजीका अनुसार १६ अधिकृतले बिदाई कार्यक्रम बहिष्कार गरे ।

‘हामीले आईजीपीबाट भएका अहमता, मपाइँत्व र गलत कार्यशैलीको विरोधस्वरूप उहाँसँगै बिदाइ हुन मन नलागेर बहिष्कार गरेका हौं,’ ती डीआईजीले भने– ‘फौजमा सामूहिक कार्यप्रणाली हुनुपर्थ्यो । यो २२ महिना उहाँबाट हामी होइन, म भन्ने प्रवृत्ति हटेन, त्यसकारण सन्देश दिन पनि बहिष्कार गर्नुपरेको हो ।’

नयाँ प्रहरी महानिरीक्षकको नियुक्ति र अवकाशप्राप्त अधिकारीहरुको बिदाइसम्बन्धी यो खबर बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ । तस्बिर स्राेतः प्रहरी प्रधान कार्यालय, केन्द्रीय प्रहरी समाचार कक्ष

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर