newskoseli.Com

क्वारेन्टाइनमा १९९ बेड तयार, चालकदल र स्वास्थ्यकर्मीलाई तालिम : चीनबाट नेपालीलाई शनिबार ल्याइने

चीनमा रहेका नेपाली ल्याउन जाने जहाजको चालक दलका १६ सदस्यलाई स्वास्थ्य मन्त्रालयले बुधबार तालिम दिँदै छ । ११ पुरुष र ५ महिला रहेको चालक दलका सदस्यलाई कोरोना भाइरसको संक्रमणबाट जोगिन तथा जहाजमा अपनाउनुपर्ने सुरक्षाका विषयमा ‘फिजिकल प्रोटेक्टिभ इक्युपमेन्ट’ तालिम दिन लागिएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. हेमन्त ओझा नेतृत्वको टोलीले उनीहरूलाई तालिम दिनेछ । चालक दलका सदस्यहरूको नाम गोप्य राखिएको छ । त्यस्तै, बिहीबार विमानस्थलमा जहाजको बाहिरी काममा खटिने कर्मचारीलाई तालिम दिने मन्त्रालयको तयारी छ ।

सरकारले चीनको हुबेई प्रान्तका विभिन्न स्थानमा रहेका १ सय ८० नेपाली लिन शनिबार नेपाल वायुसेवा निगमको एयरबस ३३०–२०० सिरिजको २ सय ७४ सिटे जहाज वुहान पठाउँदै छ । जहाजमा २ चिकित्सक, २ नर्स र १ पारामेडिक्स रहेको चिकित्सक टोली पनि जानेछ ।

उनीहरूसहित चीनबाट ल्याइएका नागरिकको उपचारमा संलग्न हुने ८६ स्वास्थ्यकर्मीलाई सोमबार डा. ओझाको टोलीले तालिम दिएको थियो । चीनबाट ल्याइने नेपाली राख्न भक्तपुरको खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रस्थित ४ वटा ब्लकमा सुरक्षित स्थान (क्वारेन्टाइन) तयार गरी १ सय ९९ बेड समेत तयार पारिसकिएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बताएको खबर बुधबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर