newskoseli.Com

बाथरुममै जान सक्छ ज्यान ! कारण के, सावधानी कस्तो ?

बानेश्वरकी एलिना अधिकारी नुहाउन बाथरुममा जाँदाको घटना कहिल्यै बिर्संदिनन् । त्यही समयले ठूलो पाठ सिकाएको छ उनलाई ।

अधिकारी भन्छिन– ‘जाडो मौसमको बिहान, सोलारको तातो पानीले नुहाउन झ्यालढोका बन्द गरें र तातो पानी खोलें । बाथरुम सानो भएकाले त्यहाँ बाफ धेरै जम्मा भयो । म त नुहाउँदा–नुहाउँदै निसास्सिएँ, त्यसपछि केही पत्तो भएन ।’ नुहाउन हतार भयो भन्दै धन्न उनकी बहिनी पनि बाथरुममा आइपुगिन् र बाहिरबाट ढोका खोलेर एलिनालाई निकाल्ने काम भयो । समयमै बाहिर आएकाले ज्यान बच्यो नत्र जे पनि हुन सक्थ्यो ।

राजधानीका धेरैजसो घरमा बाथरुम सानो हुने र भेन्टिलेसन समेत नहुने भएकाले यस्तो समस्या आउने गरेको छ । अधिकारीले भनिन्– ‘त्यो घटनापछि बाथरुमको झ्यालमा पर्दा राखेर भेन्टिलेसन हालेकी छु ।’

गणित पढाउने शिक्षक रामनाथ चापागाईंलाई बाथरुममा लडेपछि प्यारालाइसिस भयो । छ महिनापछि अलिअलि हिँडडुल गर्न सक्ने भएपछि उनले विद्यार्थीलाई घरमै बोलाएर पढाउन थालेका छन् । उनी भन्छन्– ‘हामीले सामान्य सुरक्षामा ध्यान नदिँदा ठूलो घटना निम्तन सक्छ । त्यसैले बाथरुम, ट्वाइलेट सधैं सफा र सुरक्षित राख्नु जरुरी छ ।’

बाथरुममा अक्सिजनको अभावका कारण निसास्सिएर मृत्यु हुन सक्ने बताउँछन् चिकित्सक डा. मनिष श्रेष्ठ । चिसो पानीमा नुहाउँदा उच्च रक्तचापका बिरामीलाई हृदयाघात हुन सक्छ तर तातो पानीमा त्यस्तो समस्या नहुनुपर्ने हो । उनले भने– ‘ढोका पूर्ण रूपमा बन्द हुने खालको भएकाले पनि अक्सिजनको अभावमा निसास्सिएर मृत्यु हुन सक्छ ।’

चिसोको समयमा झ्यालढोका बन्द गरेर हिटरलगायतका सामग्री प्रयोग गरेर सुत्दा मानिसको ज्यान जाने गरेको डा. श्रेष्ठ बताउँछन् । कोठामा जम्मा भएको ग्यास बाहिर जान नपाउँदा मानिसको ज्यान जाने गरेको उनले बताए । झ्याल खोलेर मात्र हिटरलगायतका विद्युतीय सामान प्रयोग गर्न उनको सुझाव छ । सुरुमा टाउको दुख्ने र केही समयपछि निसास्सिएर मानिसको मृत्यु हुने गरेको उनले बताएको खबर यलु जोशीको बाइलाइनमा शनिबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर