newskoseli.Com

प्रधानमन्त्रीको मिर्गौला एक महिनाभित्रै प्रत्यारोपण हुँदै

प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । अबको एक महिनाभित्रै उनको मिर्गौला प्रत्यारोपण गर्ने गरी तयारी भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

प्रत्यारोपणकै अन्तिम तयारीअन्तर्गत मंगलबार प्रधानमन्त्री ओलीको मुटुको एन्जिओग्राफी गरिएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियोभास्कुलर तथा ट्रान्स्प्लान्ट सेन्टरमा एन्जिओग्राफी गरिएको हो । मुटुका भल्व तथा नसाहरूको अवस्था हेर्न एन्जिओग्राफी गरिन्छ ।

उपचारमा संलग्न डा. अरुण सायमीले भने– ‘मिर्गौला प्रत्यारोपण गर्नुअघि सबै स्वास्थ्य अवस्था हेरिन्छ । त्यसैले उहाँ अस्पताल आउनुभएको हो । एन्जिओग्राफी गरेर मुटुका नसाहरूको अवस्था हेरियो, सबै सामान्य रहेछ । प्रधानमन्त्रीको मुटु साँच्चै बलियो रहेछ ।’

एन्जिओग्राफी रिपोर्टबारे चिकित्सकहरूले प्रधानमन्त्रीलाई ब्रिफिङ गरिसकेका छन् । ‘तपाईंको मुटु त निकै बलियो रहेछ भनेर हामीले उहाँलाई सुनायौं’– डा. सायमीले भने । चिकित्सकहरूका अनुसार मिर्गौला प्रत्यारोपणका क्रममा संक्रमण, हृदयाघात र मस्तिष्काघात हुने जोखिम हुन्छ । यस्ता जोखिम निम्तिन नदिन प्रत्यारोपणअघि एन्जिओग्राफी गरेर मुटुको अवस्था हेरिन्छ ।

एन्जिओग्राफी गर्नु प्रत्यारोपणको अन्तिम तयारी भएको मिर्गौलारोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले बताए । प्रधानमन्त्री ओलीको १२ वर्षअघि २०६४ मा भारतमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । तर, मिर्गौलाले राम्रोसँग काम गर्न नसकेपछि गत भदौमा सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा प्रधानमन्त्रीको प्लाज्मा फेरेसिस गरिएको खबर बुधबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर