newskoseli.Com

सिंहदरबारभित्र आगलागी : चुरोटको ठुटाबाट सल्कियो आगो

सिंहदरबारस्थित नेपाल टेलिभिजन नजिक हुलाक सेवा विभागको भवनमा आइतबार साँझ आगलागी भएको छ । प्रहरीका अनुसार भवनको भर्‍याङतर्फको सिरान तलामा आगलागी भएको हो ।

साँझ ७ः२५ बजे सुरु भएको आगलागी ७ः५० मा नियन्त्रणमा आएको थियो । आगलागीबाट प्यासेजमा रहेका केही कागजात जलेर नष्ट भएका छन् । मानवीय क्षति भने भएको छैन । प्रहरीका अनुसार ननिभेका चुरोटका ठुटा डस्टबिनमा राखिएको फोहोरमा सल्कँदा आगलागी भएको हो ।

डस्टबिनमा चुरोटको ठुटो फाल्ने व्यक्तिका सम्बन्धमा भने खुल्न सकेको छैन । चुरोटको ठुटो फोहोरमा सल्किँदा आगलागी भएको घटनास्थल पुगेका महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रहरी निरीक्षक युवराज तिमल्सिनाले बताए । ‘आगो सल्किएको खबर पाउनासाथ प्रहरी घटनास्थलमा पुग्यो । विद्युत् सर्ट भएर आगलागी भएको हो कि भन्ने शंका थियो  तर घटनास्थलमा विद्युत्‌को तार भेटिएन । जलेको डस्टबिन भने प्यासेजमा थियो । डस्टबिनभित्र चुरोटका ठुटा प्रशस्तै भेटिए । त्यसो हुँदा ठुटाबाटै आगो सल्किएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ’– उनले भने ।

आगलागी हुनासाथ सिंहदरबार परिसरस्थित प्रहरी गणका सुरक्षाकर्मी र दमकल घटनास्थल पुगेका थिए । तर, आगो नफैलिएका कारण दमकलको पानी प्रयोग नभएको खबर सोमबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर