newskoseli.Com

नेपालको नक्सा अंकित केक काटेर प्रधानमन्त्री ओलीले मनाए ‘जन्मोत्सव’ !

‘कम्युनिस्ट’ प्रधानमन्त्री केपी ओलीले आफ्नो ६९औं ‘जन्मोत्सव’ राजसी ठाँटले मनाएका छन् । सरकारी निवास बालुवाटारमा केक काटेपछि आइतबार दिउँसो चार वटा हेलिकप्टरमा दलबलसहित पुर्ख्यौली घर तेह्रथुमको आठराई पुगेका ओलीले त्यहाँ पनि १५ किलोको केट काटे, करिव ६ हजारलाई भोज खुवाए ।

सत्तारुढ नेकपाकै नेतृत्वमा रहेको आठराई गाउँपालिकाले त ओलीको ‘जन्मोत्सव’ मनाउन सार्वजनिक बिदा नै दियो । ‘जन्मोत्सव’ मनाउने क्रममा प्रधानमन्त्री ओलीले आफ्नै पहलमा पार्टीका नेता–कार्यकर्ताका लागि बनाएको आचारसंहिताको समेत उल्लंघन गरेका छन् । ५ माघमा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जन्मदिवस, पास्नी, ब्रतबन्धजस्ता संस्कारका कार्यक्रमलाई घरपरिवारमा मात्र सीमित राख्न र तडकभडक नगरी मितव्ययिता अपनाउन नेता–कार्यकर्ताका लागि आचारसंहिता जारी गरेका थिए ।

तर, प्रधानमन्त्री ओली जन्मदिन मनाउन परिवारका सदस्य, संघीय सरकारका तीन मन्त्री, दुई जना प्रदेश प्रमुख, प्रदेश– १ का मुख्यमन्त्री र मन्त्री तथा केही नेतालाई लिएर हेलिकप्टरबाट आठराई पुगे । तेह्रथुम वरिपरिका मात्रै होइन, झापा र मोरङसम्मका केही सरकारी अधिकारी र नेता–कार्यकर्ता सरकारी गाडी चढेर आठराई ओइरिए । गाउँपालिकाले सार्वजनिक बिदा दिँदै कर्मचारी, शिक्षक र विद्यार्थीलाई ‘जन्मोत्सव’ कार्यक्रममा उपस्थित हुन उर्दी गरेको थियो । झापाबाट क्याटरिङ झिकाएर करिव ६ हजारलाई भोज खुवाइएको खबर प्रकाश धौलाकोटीको बाइलाइनमा सोमबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

अझ रोचक र धेरैले आपत्तिजनक समेत मानेको विषय त के छ भने, प्रधानमन्त्री ओलीले नेपालको नक्सा अंकित केक काटेर खाए, खुवाए र आफ्नो ‘जन्मोत्सव’ मनाए । प्रतीकात्मक हिसाबमा यो विषय केपी ओलीले भन्दै आएको ‘राष्ट्रवाद’ लाई धज्जी उडाउने कार्य भन्दै सामाजिक सञ्जाल र समाजमा व्यापक आलोचना भैरहेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर