newskoseli.Com

प्रभु साहलाई विष्णु पौडेलले सोधे स्पष्टीकरण : यस्तो छ व्यहोरा…

पार्टी तथा नेताविरुद्ध अभिव्यक्ति दिएको आरोपमा सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सो पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री प्रभु साहलाई स्पष्टीकरण सोधेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सम्पन्न सचिवालयको निर्णयानुसार साहलाई महासचिव विष्णु पौडेलले स्पष्टीकरण सोधेका हुन् ।

ललितानिवास प्रकरणमा साहले फेसबुकमार्फत नेता तथा पार्टीलाई लक्षित गरी अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्ति पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललक्षित रहेको सो पार्टीले ठहर गरेको छ । ललितानिवास प्रकरणमा तत्कालीन मन्त्रीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । तत्कालीन मन्त्रीलाई मात्र दोषी देखाएर मुद्दा दायर गरेपछि प्रदेश– २ का पार्टी अध्यक्ष समेत रहेका पूर्वमन्त्री साहले तत्कालीन प्रधानमन्त्री पनि दोषी रहेको अभिव्यक्ति दिएका थिए ।

उनले कार्यकारी सर्वाधिकार प्रधानमन्त्रीमा निहित रहेको प्रधानमन्त्रीय शासन प्रणालीमा सही वा गलत जुनसुकै कार्यको जिम्मेवार स्वयं प्रधानमन्त्री हुने स्पष्ट छ तर ललितानिवास जग्गा प्रकरणमा प्रस्तावक मन्त्री दोषी र निर्णयकर्ता प्रधानमन्त्री निर्दोष कसरी भनी प्रश्न गरेका थिए । सानालाई ऐन, ठूलालाई चैन कम्युनिस्ट सरकारका लागि सुहाउने विषय किमार्थ हुन सक्दैन भन्दै अध्यक्ष साहले यसमा सम्बन्धित पक्षको ध्यानाकर्षण पनि गराएका थिए ।

महासचिव पौडेलले स्पष्टीकरण पत्रमा सोधेका छन्– ‘तपाईंले पार्टीका वरिष्ठ नेता कमरेड माधवकुमार नेपालका विरुद्धमा सामाजिक सञ्जालमार्फत अनुचित र आधारहीन आरोप लगाउनुको कारण के हो ? तपाईंलाई पार्टीले किन कारबाही नगर्ने ? केन्द्रीय सचिवालयको निर्णयानुसार तपाईंलाई स्पष्टीकरण सोधिएको छ ।’

गृहजिल्लामा रहेका अध्यक्ष साहले पार्टीबाट आएको स्पष्टीकरण आफूले प्राप्त गरे पनि त्यसबारे अहिले कुनै प्रतिक्रिया नदिने बताएको खबर मंगलबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर