newskoseli.Com

सबैलाई दबावमा राख्ने प्रधानमन्त्री ओली आफैं चर्काे दबावमा !

तस्बिरः रामेश्वर तिमल्सिना

झन्डै दुई वर्ष आफ्नै पार्टीभित्र र बाहिर सबैतिर, सबैलाई चर्को दबावमा राख्दै आएका प्रधानमन्त्री तथा सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली डेढ महिना यतादेखि भने पार्टीभित्र तीव्र दबावमा पर्दै आएका छन् ।

सो पार्टीका उपाध्यक्ष वामदेव गौतमको घरमा २३ पुसमा शीर्ष नेताहरुको बैठक बसेदेखि नै उनी पार्टीभित्रै दबाबमा परेका हुन् । त्यही दबावका कारण उनले पार्टीको सचिवालय बैठकमा आफू अनुकूल निर्णय गराउन सकेका छैनन् । पार्टीभित्र ओली हावी भइरहेका बेला पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै सहभागितामा सचिवालय सदस्यहरु झलनाथ खनाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले गौतमको घरमा छुट्टै बैठक गरेका थिए ।

सो बैठकले पार्टीभित्र ओलीको ज्यादति रहेको निष्कर्ष निकाल्दै उनीविरुद्ध एकजुट हुने निर्णय गरेको थियो । उनीहरुले सरकार परिवर्तन समेतको रणनीति बनाएर अघि बढ्ने निष्कर्ष निकालेका थिए । यसबाट ओली दबाबमा मात्रै परेनन्, उनी त्यसपछिका सचिवालय बैठकमा मौन बस्न समेत बाध्य भए ।

‘त्यसयता बसेका सचिवालय बैठकमा ओली सधैं अल्पमतमा परेका छन्,’ पार्टीनिकट स्रोतले भन्यो– ‘सभामुख चयन प्रकरणलाई लामो समय अल्मल्याउने प्रयास गरेका ओली सचिवालयभित्र भोटिङ हुने र आफू अल्पमतमा पर्ने अवस्था देखेपछि अग्नि सापकोटालाई स्वीकार्न राजी भएका थिए ।’ गौतमको घरमा भएको बैठकमा ओलीले पूर्वसहमति कार्यान्वयनमा आनाकानी गरे सरकार फेर्न समेत दबाब दिने सहमति भएको थियो । सो सहमतिपछि सचिवालय सदस्यहरुले सामूहिक नेतृत्वमा चल्न ओलीलाई सुझाव दिँदै आएका छन् ।

सभामुख नियुक्तिको विषयमा दबाव झेल्न नसकेपछि ओलीले असहज महसुस गरेका थिए । २३ पुस पछिकै एक बैठकमा वामदेव गौतमलाई राष्ट्रियसभामा सांसद बन्न आग्रह गरिएको थियो । तर, गौतमले संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन सक्ने प्रावधान राखे मात्रै आफू राष्ट्रियसभामा जाने बताएका थिए ।

तर, ओलीले संविधान संशोधन नगर्ने जनाउ दिएका थिए । संविधान संशोधन नहुने भएपछि ९ माघमा भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा गौतमले भाग नलिएको खबर टपेन्द्र कार्कीको बाइलाइनमा मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर