newskoseli.Com

पूर्वनिर्णय उल्ट्याएर ‘यती’ लाई दिइएको स्वीकार : नेपाल ट्रस्ट ‘श्वेतपत्र’

नेपाल ट्रस्टले ‘श्वेतपत्र’ जारी गर्दै थामसेर्कु प्रालिले पेस गरेको प्रस्ताव सच्याएर दरबारमार्गको जग्गा भाडामा दिइएको स्पष्ट पारेको छ । नेपाल ट्रस्ट सञ्चालक समितिका अध्यक्ष ईश्वर पोखरेलले मंगलबार जारी गरेको ‘श्वेतपत्र’ मा ट्रस्टको स्वामित्वमा रहेको दरबारमार्गको जग्गा भाडामा लगाउँदा सचिवस्तरीय निर्णयबाट स्वीकृत भएको थामसेर्कु प्रालिको प्रस्ताव सहसचिवस्तरको निर्णयबाट उल्ट्याएर सम्झौता गरिएको उल्लेख छ ।

थामसेर्कु यती ग्रुपको भगिनी कम्पनी हो । ट्रस्टको स्वामित्वमा रहेको सम्पत्ति हिनामिना भएको आरोप लागेपछि त्यसलाई प्रष्ट पार्न भन्दै ट्रस्टको कार्यालयले जारी गरेको ‘श्वेतपत्र’ मा २०७३ फागुन ६ मा सचिवस्तरीय निर्णयबाट थामसेर्कु प्रालिको ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार ९ सय ५ रुपैयाँको प्रस्ताव स्वीकृत भएको उल्लेख छ ।

ट्रस्टले मंगलबार जारी गरेको ‘श्वेतपत्र’ अनुसार गोरखापत्रमा थामसेर्कुको आर्थिक प्रस्ताव स्वीकृत गरिएको आशयको सूचना फागुन १० मा प्रकाशित भएपछि थामसेर्कुले आफूले गरेको प्रस्ताव ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार ९ सय ५ रुपैयाँ नभई १ अर्ब ४० करोड १० लाख ८६ हजार ७७ रुपैयाँ भएको धारणासहितको पत्र नेपाल ट्रस्टको कार्यालयमा दर्ता गराएको थियो ।

थामसेर्कुले पेस गरेको निवेदनउपर छानबिन हुँदा प्राविधिक त्रुटिका कारण स्वीकृत भएको उक्त मूल्य सहसचिवस्तरीय पुनर्निर्णयबाट थामसेर्कु प्रालिको पछिल्लो प्रस्ताव स्वीकृत गरी सम्झौता गरेको ‘श्वेतपत्र’ मा भनिएको छ । ट्रस्टका तत्कालीन कार्यकारी सचिव अर्जुन कार्कीले स्वीकृत गरेको प्रस्ताव थामसेर्कुको स्वार्थवमोजिम सच्याएर सचिवबाट प्रत्यायोजन गरिएको अधिकार प्रयोग गरी ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीले सम्झौता गरेका थिए ।

दरबारमार्गको जग्गा भाडामा दिँदा ट्रस्ट र थामसेर्कुबीच २०७४ जेठ १४ मा सम्झौता भएको थियो । ट्रस्टले जारी गरेको ‘श्वेतपत्र’ मा प्रस्ताव स्वीकृत गरेको मिति २०७४ वैशाख ५ उल्लेख भए पनि सम्झौता भएको मिति भने उल्लेख नभएको खबर सुनील सापकोटाको बाइलाइनमा बुधबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर