newskoseli.Com

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण बुधबार : कस्तो छ तयारी, कसरी बढ्यो आँट ?

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओलीले फागुन १५ गते पार्टीको वाग्मती प्रदेशको प्रशिक्षण कार्यक्रममा भनेका थिए– ‘म केही दिनमै मिर्गौला प्रत्यारोपण गर्दै छु । पाँच दिन अस्पताल बस्छु, छैटौं दिनदेखि घर फर्किएर फेरि काममा लाग्नेछु ।’

त्यसको तीन दिनमै उनले अप्रत्याशित रूपमा प्रत्यारोपणको मिति तय गरेका छन् । ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा हुने भएको छ । उनी सोमबार अस्पताल भर्ना हुँदैछन्, त्यसका लागि आइतबार बिहान ग्रान्डी अस्पतालमा उनको स्वास्थ्य जाँच गरिएको थियो । अस्पतालका मेडिकल निर्देशक डा. चक्रराज पाण्डेले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो रहेको बताए । ‘उहाँ स्वस्थ हुनुहुन्छ, स्वास्थ्य जाँचको रिपोर्ट राम्रो आएको छ’– उनले भने ।

प्रधानमन्त्रीको मुटु, ठूलो आन्द्रा र रगतको जाँच गरिएको थियो । स्वास्थ्य जाँचको रिपोर्ट राम्रो आएपछि आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा चिकित्सकसँग छलफल भएको थियो । २०६४ साउनमा भारतको अपोलो अस्पतालमा ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यस बेला बुहारी नाताकी अञ्जना घिमिरेले मिर्गौला दिएकी थिइन् । पहिलोभन्दा दोस्रो पटकको प्रत्यारोपण अलिक जटिल हुने चिकित्सक बताउँछन् ।

ओलीलाई दोस्रो पटक मिर्गौला दिन आफन्त नाताकी एक महिला तयार भएकी छन् । चिकित्सकका अनुसार उनको स्वास्थ्य जाँच गरी तयारी अवस्थामा राखिएको छ । वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्रा.डा. दिव्यासिंह शाहले प्रत्यारोपणको संयोजन गरिरहेकी छन् । प्रधानमन्त्रीकी निजी चिकित्सक समेत रहेकी डा. शाह स्वदेशी एवं विदेशी चिकित्सकसँग परामर्शमा छिन् ।

ओलीको स्वास्थ्य रिपोर्ट आइतबार बालुवाटार पठाइएको वरिष्ठ मुटु रोग विशेषज्ञ डा. अरुण सायमीले बताए । ‘सबै रिपोर्ट आजै (आइतबार) पठाइएको छ, प्रत्यारोपण गर्न सकिने अवस्था छ’– उनले भने । उनका अनुसार प्रत्यारोपणमा विदेशी चिकित्सक समेत संलग्न हुने सम्भावना छ । ‘विदेशी विज्ञ पनि ल्याउने सम्बन्धमा डा. दिव्यासिंह शाहले नै समन्वय गर्नुभएको छ’– उनले भने ।

यसरी बढ्यो आँट…

‘हाम्रा सम्माननीय प्रधानमन्त्रीज्यू नेपालमै मिर्गौला प्रत्यारोपण गर्न दृढ हुनुहुन्छ’– वरिष्ठ मिर्गौला प्रत्यारोपण सर्जन डा. प्रेम ज्ञवालीले मंसिर ३ मा फेसबुकमा लेखेका थिए । त्यहीअनुरूप प्रधानमन्त्री ओली स्वदेशमै प्रत्यारोपण गर्न तयार देखिएका छन् ।

भारतमा मिर्गौला प्रत्यारोपणपछि उनी अन्य उपचारका लागि सिंगापुर जाने गरेका थिए । चिकित्सकले उनको दोस्रो पटकको प्रत्यारोपण स्वदेशमै गर्ने आँट देखाएका छन् । ७ सयभन्दा बढी सफल प्रत्यारोपण गरिएकाले आँट आएको निर्देशक डा. खड्गाको भनाइ छ । ‘हरेक बुधबारलाई मिर्गौला प्रत्यारोपण डेका रूपमा लिएका छौं । त्यही भएर प्रधानमन्त्रीज्यूको प्रत्यारोपण पनि बुधबार नै गर्ने निर्णय गरिएको हुन सक्छ’– उनले भनेको खबर दिनेश गौतमरामकृष्ण अधिकारीको बाइलाइनमा सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर