newskoseli.Com

साढे ४ घन्टाको अप्रेसन, ३९ मिनेटमा जोडियो मिर्गौला : प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको शल्यक्रिया कक्षमा प्रवेश गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफन्त र शुभचिन्तकलाई चिन्ता नलिन र नआत्तिन आग्रह गर्दै भने– ‘मलाई राम्रो हुन्छ, नराम्रो भए पनि आफ्नो देशको माटोमा उपचार हुने भएकाले चिन्ता लिनु आवश्यक छैन, जे हुन्छ राम्रै हुन्छ ।’

आफ्नै देशको माटोमा उपचार गराएकाले आफूलाई जे भए पनि फरक नपर्ने भन्दै ढुक्क रहन पटक–पटक आफन्त र शुभचिन्तकलाई आग्रह गरेको जानकारी वरिष्ठ चिकित्सक अरुण सायमिले दिए । प्रधानमन्त्री ओलीलाई भीभीआईपी कक्षको ६०१ शय्याबाट शल्यक्रिया कक्षमा लग्दा बिहान ९ बजेर ५७ मिनेट गएको थियो । अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले बिहान ९ बजेदेखि प्रधामन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सुरु हुने जानकारी दिए पनि तयारी गर्दा करिव एक घन्टा ढिलो गरी उनलाई शल्यक्रिया कक्षमा लगिएको थियो ।

ओलीको मिर्गौला प्रत्यारोपण गर्ने टोलीको नेतृत्व गरेका डा. प्रेम ज्ञवालीले प्रक्रिया सुरु गरेको जनाउ दिँदा १० बजेर २ मिनेट गएको खबर बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।

सर्जन प्रा.डा. प्रेम ज्ञवालीका अनुसार अप्रेसन थियटरमा जानुअघि प्रधानमन्त्रीले ‘तपाईंहरूप्रति पूर्ण भरोसा रहेको’ बाताएका थिए । सबै स्वास्थ्यजाँच गरेपछि ज्ञवालीले भने– ‘हामीले केही भन्नु छ अथवा केही आदेश छ त प्रधानमन्त्रीज्यू भनेर सोधेका थियौं । उहाँले मेरो केही भन्नु छैन, तपाईंहरूप्रति पूर्ण भरोसा छ मात्रै भन्नुभयो ।’

डा. ज्ञवालीले अगाडि भने– ‘मिर्गौला प्रत्यारोपण गर्न जम्माजम्मी ४ घन्टा ३० मिनेट लाग्यो । त्योमध्ये मिर्गौला जोड्न ३९ मिनेट लाग्यो । यो भनेको सामान्य हो । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था धेरै राम्रो छ । हरेक घन्टा ६ सयदेखि ७ सय मिलिलिटरका दरले पिसाब हुन थालेको छ । यसको अर्थ प्रत्यारोपण गरिएको नयाँ मिर्गौलाले अहिलेसम्म चार लिटरभन्दा बढी पिसाब बनाइसकेको छ । त्यो भनेको हाम्रा लागि धेरै हर्षको कुरा हो ।’

डा. ज्ञवाली भन्छन्– ‘दाताको स्वास्थ्य पनि ठीक छ । उहाँको मिर्गौला निकाल्न डेढ घन्टा लागेको थियो । दाताको शल्यक्रिया ल्याप्रोस्कोपिक विधिबाट गर्‍यौं । यसो गर्दा सानो मात्र घाउ हुन्छ । त्यसैले दाताबाट मिर्गौला झिक्दा ल्याप्रोस्कोपिक विधि नै प्रयोग गर्न थालिसकेका छौं । पहिले हामीले ठूलै घाउ बनाएर गर्थ्यौं । अहिले हामीले नयाँ सीप पनि सिक्यौं र प्रविधि पनि उपलब्ध भएकाले ल्याप्रोस्कोपिक विधिबाट शल्यक्रिया गरेका हौं । उहाँलाई अहिले राम्रो छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक बुधबार सम्पन्न गरिएको मिर्गौला प्रत्यारोपणसम्बन्धी यो खबर बिहीबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर