ऐनविपरीत काम गर्ने आठ वटा कम्पनी तथा फर्मलाई कालो सूचीमा राखेर कारबाही गर्ने निर्णय सार्वजनिक खरिद अनुगमन कार्यालयले गरेको छ । कार्यालयको शुक्रबार बसेको बैठकले सार्वजनिक खरिद ऐनविपरीत काम गर्ने आठ वटा निर्माण व्यवसायी, आपूर्तिकर्ता र सेवा प्रदायक कम्पनीलाई कारबाही गर्ने निर्णय गरेको हो ।
ऐनविपरीत काम गर्ने निर्माण व्यवसायी, आपूर्तिकर्ता र सेवा प्रदायक कम्पनीलाई एकदेखि दुई वर्षसम्म कालो सूचीमा राखेर कारबाही गर्ने निर्णय भएको खरिद अनुगमन कार्यालयका कानुन निर्देशक राजेश थापाले बताए । दुई वर्ष कालो सूचीमा राखेर कारबाही गर्ने निर्णय भएकाहरूमा श्री सीताराम निर्माण सेवा बाँके र अजम्बर शिवराम कन्स्ट्रक्सन जेभी दोलखा रहेका छन् ।
त्यसैगरी, स्वस्तिक–सूर्यविनायक कन्स्ट्रक्सन प्रालि हेटौंडा, टौदह कन्स्ट्रक्सन काठमाडौं, उन्नति निर्माण सेवा डोटी, सकम्बरी ट्रेडिङ कन्सन काठमाडौं, इन्दिरा कन्स्ट्रक्सन दोलखा र सुवर्ण ब्राह्मणी जेभी एक वर्षे कालोसूचीमा परेको खबर हिमाल लम्सालको बाइलाइनमा शनिबारको नागरिक दैनिकमा प्रकाशित छ ।