सेक्युरिटी प्रिन्टङ प्रेस खरिद प्रक्रियामा देशलाई नोक्सान हुने गरेर कुनै निर्णय नभएको दाबी निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले गरेका छन् । सेक्युरिटी प्रेस खरिदमा शक्तिकेन्द्रको स्वार्थ पूरा नभएपछि अडियो सार्वजनिक गरेर आफूविरुद्ध नियोजितरुपमा बदनाम गराउने काम गरिएको उनले बताएका हुन् ।
सात वटा मन्त्रालयका सहसचिव र निर्देशकसहितको नौ सदस्यीय समितिले बुझाएको प्रतिवेदनका आधारमा सेक्युरिटी प्रेस खरिद प्रक्रिया अगाडि बढाइएको बताउँदै समितिले निकालेको अनुमानित लागतभन्दा १० अर्ब रुपैयाँ कममा खरिद गर्न लाग्दा शक्तिकेन्द्रहरुले चलखेल गरेको उनले बताए । समितिले प्रेस खरिद गर्नका लागि ३३ अर्ब रूपैयाँ लागत अनुमनसहितको प्रतिवेदन बुझाए पनि आफूले २३ अर्बमा प्रेस खरिद गर्ने प्रक्रिया अगाडि बढाएको बाँस्कोटाले बताए ।
‘मैले गलत काम गरेको छैन, राष्ट्रलाई घाटा हुने कुनै निर्णय गरेको छैन, राज्यलाई फाइदा हुने काम गर्दा ममाथि षडयन्त्र भयो,’ उनले भने– ‘म देश बनाउन आएको हो, गलत नियत केही पनि थिएन र छैन; मेरो बोली छुच्चो होला तर नियत सफा छ ।’
७० करोड कमिसन मागेको भन्दै अडियो सार्वजनिक भएपछि बाँस्कोटाले नैतिकताका आधारमा राजीनामा दिएका थिए । राजीनामा दिएपछि आफूले गलत नगरेको बताउँदै दोषी प्रमाणित भए सजाय भोग्न तयार भएको प्रतिक्रिया उनले दिएको खबर आइतबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।