सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपण गर्न अस्पताल भर्ना भएसँगै सो पार्टीको बैठक समेत प्रभावित हुन पुगेको छ । ओली अस्पताल भर्ना भएयता सचिवालयको बैठक बस्न सकेको छैन ।
सो पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभाको सदस्य बनाउन सचिवालयको बैठकले गरेको निर्णय अन्योलमा परेसँगै पार्टीको बैठक पनि प्रभावित हुन पुगेको हो । मनोनीत कोटाका लागि राष्ट्रियसभाको सदस्य बनाउन मन्त्रिपरिषदको बैठकले सिफारिस गरेपछि मात्र राष्ट्रपतिले मनोनयन गर्ने प्रावधान छ ।
तर, सरकारले अझैसम्म निर्णय नगर्दा गौतम राष्ट्रियसभाको सदस्य बन्ने बाटो खुल्न सकेको छैन । प्रधानमन्त्री अस्पताल भर्ना हुनुअघि सचिवालयको बैठक बसे पनि गौतमको विषयमा कुनै खास निर्णय भएन । यता, प्रधानमन्त्री ओली अस्पतालमा रहेकै बेला राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएर राजीनामा दिएका अर्थमन्त्री डा. युवराज खतिवडालाई भने सरकारले पुनः अर्थमन्त्री बनाइसकेको छ । तर, प्रधानमन्त्री ओलीले गौतमका बारेमा कुनै निर्णय लिएका छैनन् ।
गौतमका कारण विवादमा रुमलिएको नेकपाको केन्द्रीय समिति बैठकले गरेका अरु थुप्रै निर्णय समेत कार्यान्वयन हुन नसकेको खबर मंगलबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।