मंगलबारदेखि विभिन्न आठ देशका नागरिकले नेपालमा ‘अन अराइभल भिसा’ नपाउने भएका छन् । कोरोना (कोभिड– १९) को धेरै प्रभाव भएका चीन (हङकङ र ताइवानसहित), जापान, दक्षिण कोरिया, इटाली, इरान, फ्रान्स, स्पेन र जर्मनीका नागरिकले ‘अन अराइभल भिसा’ नपाउने भएका हुन् ।
सरकारले पाँच देशको हकमा गतसाता नै त्यस्तो भिसा नदिने निर्णय गरेकामा फ्रान्स, स्पेन र जर्मनीका नागरिकलाई पनि सोही वमोजिम गर्ने निर्णय भने सोमबार मात्रै गरेको हो । यी देशका नागरिक नेपाल आउन चाहे अग्रिम रूपमा नेपाली मिसनहरूबाट भिसा लिनुपर्ने हुन्छ ।
उनीहरूले आफूमा कोरोना संक्रमण नभएको स्वास्थ्य रिपोर्ट पेस गर्नुपर्ने नियम लागू गरिएको अध्यागमन विभागका निर्देशक रामचन्द्र तिवारीले बताएको खबर मंगलबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।