newskoseli.Com

सरकारी जग्गा नेकपाका नेतालाई ठेक्का

दाङको घोराहीस्थित १६ कट्ठा सरकारी जग्गा सत्तारुढ नेकपाका नेतालाई ठेक्कामा दिइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका नाममा रहेको १५ कट्ठा १४ धुर खालि जग्गा नेकपाका नेतालाई ठेक्कामा दिइएपछि चर्को आलोचना भएको छ ।

सो जग्गामा मेला–महोत्सवलगायतका विभिन्न कार्यक्रम हुन्थे । कम्पनीले सत्तारुढ नेकपाका नेतालाई ठेक्कामा दिएपछि घोराहीमा सार्वजनिक कार्यक्रम गर्ने स्थलको समेत अभाव खड्किएको छ । ‘अब घोराही बजार क्षेत्रमा खाल िजमिन सकियो भन्दा पनि हुन्छ, भोलि कुनै प्राकृतिक विपत् आइपरेको अवस्थामा घोराहीवासीलाई राख्ने ठाउँ समेत मेटाइयो, मेला–महोत्सवलगायतका कार्यक्रम आयोजना गर्ने ठाउँ पनि मासियो,’ नेकपा घोराहीका नगर संयोजक राममणि पाण्डेले भने– ‘जग्गा ठेक्कामा दिनु नीति–नियमले ठीक या बेठीक जे भए पनि भोलिका बारेमा केही नसोचिनु ठीक होइन ।’

साविकका साल्ट ट्रेडिङ कम्पनी र खाद्य संस्थान गाभिएपछि साउनमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी बनेको थियो । कम्पनीका दाङ प्रमुख माधव मिश्रका अनुसार कम्पनीलाई साउन २८ मा सरकारले स्वायत्तता प्रदान गरी कम्पनीका नाममा रहेको सरकारी जमिनको उचित व्यवस्थापन गर्न भनेको थियो । ‘सरकारले स्वायत्तता प्रदान गरेसँगै कम्पनीको नाममा रहेको सम्पत्तिको उचित व्यवस्थापन गर्न पनि अधिकार दियो,’ मिश्रले भने– ‘यसै अधिकारमा टेकेर सरकारी सम्पत्तिको उचित व्यवस्थापन गर्ने प्रक्रियामा कम्पनी लागेको हो ।’

उनका अनुसार मन्त्रिपरिषदको साउन २८ को निर्णयमा टेकेर सम्पत्ति महाशाखाले समेत खालि रहेको सरकारी जमिनमा भौतिक संरचना निर्माण वा जग्गा भाडामा दिने गरी व्यवस्थापन गर्न कम्पनीको जिल्ला शाखालाई निर्देशन दिएको थियो । ‘सम्पत्ति महाशाखाले खालि जमिन लथालिंग नछोड्नु भनेर निर्देशन दिएको थियो,’ मिश्रले भने– ‘खालि जग्गाको व्यवस्थापन भनेको भाडामा दिनु थियो ।’

तीन जनाले सो जगा ठेक्कामा लिन बोलपत्र दाखिला गरेका थिए । पाँच वर्षसम्म उपभोग गर्न पाउने गरी सो जग्गा सत्तारुढ नेकपाका जिल्ला नेता विश्वराज आचार्यले ठेक्का पाएका हुन् । ‘मासिक १ लाख ११ हजार १ सय रुपैयाँ बुझाउने गरी जग्गा प्रयोग गर्न ठेक्का दिइएको हो,’ मिश्रले भने– ‘खालि जमिनको यो आम्दानी कम्पनीका लागि ठूलो हो ।’

‘सरकारी जग्गा नेकपा नेतालाई ठेक्का’ शीर्षक यो खबर बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर