घुमुवाका रुपमा काम गर्दै आएका ७४ जना प्रहरी जवानदेखि अधिकृतसम्मलाई महानगरीय प्रहरी कार्यालयले जिम्मेवारीबाट मुक्त गर्दै सशस्त्र प्रहरी गण महाराजगञ्जमा सरुवा गरिदिएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुरलगायत मातहतका कार्यालयमा कार्यरत घुमुवाहरुलाई एकै पटक हटाएर उनीहरुलाई गणमा पठाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए । उनीहरुलाई जिम्मेवारीबाट हटाएर एकहप्ते ‘आचरण सुधार’ का लागि महानगरीय प्रहरी शिक्षालय महारागञ्जमा पठाइएको जानकारी समेत उनले दिए ।
सादा पोसाकमा खटिने प्रहरी अधिकृत तथा जवानहरुलाई कार्यालयले अब ‘प्रतिबन्धित समूह’ का गतिविधि ‘नियन्त्रण’ तथा जघन्य अपराधको सुराकीका लागि मात्रै परिचालन गर्ने लक्ष्य लिएको जानकारी उनले दिएको खबर आइतबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।