newskoseli.Com

२३५ आईसीयू बेड थपिँदै : उपत्यकामा १२० र बाहिर ११५ थप आईसीयू बेड, १००० बेडको थप आइसोलेसन कक्ष

कोरोनाभाइरस संक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखी सरकारले काठमाडौं उपत्यका र विभिन्न प्रदेशमा गरी २ सय ३५ वडा आईसीयू बेड स्थापना गर्ने निर्णय गरेको छ । काठमाडौं उपत्यकामा १ सय २० र विभिन्न प्रदेशमा १ सय १५ वटा आईसीयू बेड तयार पार्ने निर्णय गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मात्रै कोरोनाभाइरसको जोखिम न्यूनीकरण गर्न आवश्यकताअनुसार अस्पताल बनाइने प्रतिबद्धता व्यक्त गरेका थिए । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा सोमबार सिंहदरबारमा बसेको कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले उपत्यकामा आईसीयू बेड बनाउने अस्पताल तोकेको खबर मंगलबारको राजधानी दैनिकमा प्रकाशित छ ।

त्यसैगरी, सोही बैठकले टेकु अस्पताल, आयुर्वेद अस्पताल कीर्तिपुर, नेपाली सेनाको अस्पताल, सशस्त्र प्रहरीको अस्पताल, वीर अस्पताल र पाटन अस्पतालमा २०–२० वटा सघन उपचार कक्ष (आईसीयू) थप्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालयका सचिव एवं उच्चस्तरीय संयन्त्रयका सदस्य सचिव नारायणप्रसाद विडारीका अनुसार भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा २२० बेड र तेलकोटस्थित खानेपानी तालिम केन्द्रमा ६० बेडको आइसोलेसन वार्ड बनाउने निर्णय उक्त बैठकले गरेको छ । उनका अनुसार आयुर्वेद अस्पताल कीर्तिपुरमा २ सय, टेकु अस्पतालमा १ सय, पाटन अस्पतालमा ७०, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका अस्पतालहरुमा १ सय र इचंगुनारायणस्थित सैनिक ब्यारेकमा २ सय ५० बेडका आइसोलेसन वार्ड बनाउने निर्णय भएको छ ।

प्रदेश सरकारले पनि आवश्यकताअनुसार आइसोलेसन वार्डको व्यवस्था गर्न समेत बैठकले निर्देशन दिएको छ । सम्भावित सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर विभिन्न उद्योगी–व्यवसायीसँग समन्वय गरेर स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पीपीई) किट ८ सय थान र डाइग्नोसिस किट ३ हजार थान शीघ्र आपूर्ति व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ । सोको व्यवस्था उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गर्ने जनाइएको छ । यसरी तत्काल हजार बेडका आइसोलेसन वार्ड थपिने खबर मंगलबारको गोरखापत्र दैनिकले प्रकाशित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर