गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाता कोइरालाले आफू परराष्ट्रमन्त्री रहेका बेला पदीय दुरुपयोग गरेर विदेशी नागरिक रहेकी आफ्नी छोरीलाई गैरआवासीय नेपाली (एनआरएन) को परिचय उपलब्ध गराएको प्रमाण फेला परेको छ ।
जर्मन नागरिकता भएकी र बंगलादेशी नागरिक रुबेल चौधरीसँग वैवाहिक सम्बन्धमा रहेकी छोरी मेलानी रोशा जोस्टलाई सुजाताद्वारा नेपालको परराष्ट्र मन्त्रालयका तर्फबाट ‘गैरआवासीय नेपाली’ को परिचयपत्र उपलब्ध गराइएको हो । सन् २०१० को फेब्रुअरी ८ देखि सन् २०२० को फेब्रुअरी ७ तारेखसम्म (दस वर्ष) को मान्यता रहने गरी सुजाताले आफू परराष्ट्रमन्त्री हुँदा मेलानीलाई उक्त परिचयपत्र बनाइदिएकी हुन् ।
जर्मन नागरिकसँग विवाह गरेर जर्मनीमै जन्मिएका छोराछोरीलाई सुजाताले उतै हुर्काएकी थिइन् । आफ्ना पिता गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बनेपछि रातारात नेपाल फर्किएकी सुजाताले आफ्नो ‘बन्दोबस्ती’ भइसकेपछि छोराछोरीलाई पनि नेपाल ल्याएकी हुन् । तर, उनले छोरा आन्द्रेस र छोरी मेलानीलाई नेपाली नागरिकता दिलाएको जानकारी हुन सकेको छैन ।
छोराको विवाह पोखराकी एक ‘प्रतिष्ठित’ कन्यासँग गराएर अंशबण्डा गरी उनलाई विराटनगरको पाँच विघा जमिन दिइएको छ । हाल बुढानीलकण्ठमा एक घर खरिद गरी बसेका छोरा आन्द्रेसको आमा सुजातासँग राम्रो सम्बन्ध नभए पनि उनले सुष्मा कोइराला मेमोरियल ट्रस्टको व्यवस्थापन हेर्दै आएका छन् । बंगलादेशी बनेकी मेलानीका पति रुबेल चौधरी नेपालमा ‘मोस्ट वान्टेड’ को सूचीमा छन् ।
‘कल बाइपास’ धन्दा सञ्चालन गरी नेपाललाई करोडौं रुपैयाँ क्षति पुर्याएको आरोप चौधरीमाथि छ । रुबेल र मेलानी अहिले बेलायत बस्ने गर्दछन् र सुजाताले पनि नेपाल छाडेर छोरी–ज्वाइँसँगै बेलायत बसोबास गर्ने योजना बनाइरहेकी छन् । शक्तिमा पुगेकाहरूको तुच्छ हर्कतसम्बन्धी यो खबर बुधबारको घटना र विचार साप्ताहिकमा प्रकाशित छ ।