newskoseli.Com

कोरोना सन्त्रास : ‘रोकथाम गर्न’ ६ वटा सरकारी कार्यदल

तस्बिरः रासस

कोरोनाभाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न जारी निर्देशन अवज्ञा गर्नेलाई नियन्त्रणमा लिएरै भए पनि सरकारले कोरोना रोकथामको पहल गर्ने भएको छ । कोरोनाभाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्यमा भएका हालसम्मका गतिविधिको समीक्षा गर्दै शनिबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले सो निर्णय गरेको हो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल सो समितिका संयोजक छन् । शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर भए पनि क्वारेन्टाइन, आइसोलेसन र उपचारमा पठाइने कोभिड– १९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकपछि अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा गरेको सम्बोधन र निर्देशनको कार्यान्वयन, कार्ययोजना बनाउने र अनुगमन गर्ने विषयमा बैठक केन्द्रित भएको उनले बताए ।

कोभिड– १९ का कारण आउन सक्ने सम्भावित जोखिम बहन गर्न छ वटा कार्यदल गठन भएको खतिवडाले बताए । उनका अनुसार उच्च तहको राजनीतिक, सामाजिक समन्वयका लागि पनि कृषि तथा पशुपक्षीमन्त्री घनश्याम भुसालको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । क्वारेन्टाइन व्यवस्थापनसम्बन्धी कार्यदलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई संयोजक छन् । बिरामी व्यवस्थापन टिमको नेतृत्व र समन्वय गृह मन्त्रालयले गर्नेछ ।

त्यसैगरी, सञ्चार तथा सूचना व्यवस्थापन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले, स्वास्थ्य सामग्री आपूर्तिका लागि परराष्ट्र मन्त्रालयले, आपूर्ति मन्त्रालयले र आपूर्ति व्यवस्थापन र कार्यान्वयन अनुगमन उपप्रधान एवं रक्षामन्त्रीले संयोजन गर्ने व्यवस्था गरिएको खबर दीपक श्रेष्ठको बाइलाइनमा आइतबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर