कोरोनाभाइरस नियन्त्रणका लागि गरिएको लकडाउनको अवधि लम्बिन सक्ने र ग्यासको बिक्री–वितरणमा समस्या हुन सक्ने भएकाले एक परिवारलाई महिनामा एउटा सिलिन्डर उपलब्ध गराइने भएको छ । पेट्रोलियम पदार्थको बिक्री–वितरणमा नयाँ वितरण नीति तथा प्रणाली लागू गरी नेपाल आयल निगमले सो व्यवस्था गरेको हो ।
त्यसका लागि बिक्रेताले उपभोक्ताको नाम, ठेगाना नागरिकता नम्बर र फोन नम्बरसहितको तथ्याङ्क राख्नुपर्नेछ । सो तथ्याङ्क जिल्ला प्रशासन कार्यालय वा निगमले अनुगमनका बेला वा जुनसुकै बेला पनि बिक्रेतासँग माग्न सक्नेछ । डिलरले बिक्री गरेको सिलिन्डरको परिमाण र डिलरले उपभोक्तालाई बिक्री गरेको परिमाण ग्यास उद्योगले नियमित रूपमा परीक्षण गर्नुपर्नेछ ।
निगमका अनुसार ग्यास उद्योगले बिक्रेतालाई पठाउने ग्यास सिलिन्डरको परिमाण, बिक्रेताको नाम, ठेगाना, प्यान वा भ्याट नम्बरलगायतका विवरण खुलाउनुपर्नेछ । निगमको स्वीकृतिविना ग्यास बिक्री गर्न नपाइने खबर लक्ष्मण दर्नालको बाइलाइनमा बिहीबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।