फ्रान्सबाट फर्केकी १९ वर्षीया युवतीसँगै विमानमा आएका प्रदेश– २ का ३३ जनामा कोभिड– १९ को संक्रमण नदेखिएको बताइएको छ । ती युवतीमा कोभिड– १९ देखिएपछि कतार एयरवेजमा सँगै आएकाहरूको स्वास्थ्य परीक्षण गरिएको थियो ।
‘एक जनाको टेकु, काठमाडौंमा परीक्षण भइरहेको छ, अरूमा संक्रमण देखिएन,’ प्रदेश– २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्कीले भने– ‘३३ जनालाई नै अहिले होम क्वारेन्टाइनमा राखिएको छ ।’ फ्रान्सबाट दोहा हुँदै ४ चैतमा काठमाडौं ओर्लिएकी ती युवतीमा संक्रमण पुष्टि भएपछि उनीसँगै सोही विमानमा आएका प्रदेश– २ का ३३ जनाको खोजी गरिएको थियो ।
उनीहरू सबैको ज्वरो, रगत र खकार परीक्षण गरिएको छ । सिरहाका एक जनामा भने ज्वरो देखिएपछि टेकु पठाइएको सामाजिक विकास मन्त्रालयले जनाएको खबर कान्तिपुर दैनिकमा प्रकाशित छ।