मंगलबार दिउँसो करिव १ बजे, महाकाली नदी पारिपट्टि किनारमा एक युवकले एकाएक लुगा फुकाले । लुगा झोलामा हाले, झोला टाउकामा बाँधे अनि महाकालीमा हेलिए । केहीबेरमै वारि किनार आइपुगे । उनले देशको माटो त टेके तर खुसीको सास फेर्न सकेनन् । किनभने, वारि आएलत्तगै प्रहरीले पक्राउ गर्यो । महाकालीको चिसो पानीमा चोबलिएर काम्दै देश छिरेका उनी प्रहरीले समातेपछि झन् अत्तालिए । आफ्नै देश टेक्दा आफ्नै देशका सुरक्षाकर्मीसामु अवाक भए ।
उनी हुन्– बैतडीको डिलासैनी गाउँपालिका– २, सिमराका २१ वर्षीय लोकेन्द्र बोहरा । घरमा कमाउने कोही नभएपछि दुई महिनाअघि गाउँका साथीसँगै रोजगारीका लागि भारत गएका थिए । पिथौरागढ जिल्लाको पञ्चाचुली क्षेत्रमा सडक निर्माणको काम पनि पाए । तर, चैत नलाग्दै कोरोनाको हल्ला फैलियो । ठेकेदारले घर जान भनेपछि शनिबार उनीसहित ११ नेपाली मजदुरले नेपालको यात्रा तय गरेका थिए । सोमबार धार्चुला आइपुगेका थिए ।
‘दुई दिनसम्म लगातार हिँडेर सोमबार धार्चुला आइपुगें । त्यहाँ अन्य नेपालीलाई राखिएको ठाउँमा खाना खाएँ । कान्जीहाउसमा शौचालयको छतमा रात काटें,’ उनले भने– ‘आफ्नै देश छिर्न रोक लागेकामा कटक्क मन काट्यो । जे होला भनेर आज महाकाली तरेको हुँ । अब नेपाल सरकारले जे गर्छ, त्यही टर्छ ।’
कति छिरे यसरी ?
बैतडीकै डिलासैनी– ७, धामीगाउँका २१ वर्षीय अमरसिंह धामीले पनि मंगलबार महाकालीमा पौडेर नेपालमा पाइला टेके । उनीसहित १३ जनाको समूह भारतबाट आइतबार बिहान हिँडेर सोमबार बेलुका सीमावर्ती क्षेत्र बालुवाकोट आइपुगेको थियो । अमरसिंह पनि रहरले भारत गएका थिएनन् । १० कक्षासम्म पढेका उनी परिवारको पेट पाल्न रोजगारी खोज्दै पुगेका थिए । कोरोनाको त्राससँगै सडक निर्माणको रोजगारी गुमेपछि घर फर्किएका हुन् । तर, सीमामा सरकारले रोकेकोमा उनको चित्त दुखाइ छ । ‘परिवार धान्न भारत जानुपर्यो । अहिले दुःखमा आफ्नो घर फर्किन पनि नपाउने ?’ उनले भने– ‘बालुवाकोटमा खान–बस्नको व्यवस्था नभएपछि जे त पर्ला भनेर महाकाली तरेर आएको हुँ ।’ उनीसँगै डिलासैनी– ३ र पुर्चौडी नगरपालिका– ३ का ६ जना महाकाली तरेर नेपाल छिरेका छन् ।
पौडिन सक्ने तरेर आए तर नसक्ने सयौं नेपाली भारतीय क्षेत्रमै अलपत्र छन् । अमरसिंहसँगै महाकाली तरेर आएका पुर्चौडी– ८ का २५ वर्षीय दीपक साउद भारततर्फ बाटाभरि बालबच्चासहित सयौं अलपत्र परेको बताउँछन् । भारतीय प्रहरी र पसलेले नेपालीलाई अपराधी आएजस्तो व्यवहार गर्ने गरेको उनले बताए । पुल बन्द गरेर पारिपट्टि नै खान र बस्नको व्यवस्था गरिएको भनिए पनि अव्यवस्थित रहेको उनले बताए । ‘पारि खाने र बस्ने व्यवस्था छ भनेर के गर्ने, भीडभाड र फोहोरले झन् संक्रमणको डर छ । हामीले त त्यही डरले आइतबारदेखि केही खाएका छैनौं’– उनले भनेको खबर बुधबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।