सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय बैठक बोलाएको छ । मंगलबार अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो ।
सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा कोभिड–१९ (कोरोनाभाइरस) र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुनेछ । लकडाउनपछि पहिलो पटक नेकपाले बैठक बोलाएको हो । नेकपाभित्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सचिवालय बैठक बोलाउन दबाब दिइएको थियो ।
सोही दबाबपछि प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग प्रचण्डले छलफल गरेपछि मंगलबारका लागि बैठक डाकिएको हो । स्वास्थ्य सामाग्री खरिदको विवाद र त्यसपछि सेनालाई दिइएको जिम्मेवारीबारे नेकपाभित्रै विवाद छ । यस बैठकमा मुख्य छलफल सोही विषयमा हुने बताइएको खबर मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।