सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तनावमा परेका छन् । कोभिड– १९ (कोरोनाभाइरस) संक्रमण फैलन नदिन सरकारले खरिद प्रक्रिया थालेपछि पार्टी र सरकारको आलोचन बढ्दा उनी तनावमा परेका हुन् ।
खरिद प्रकरणमा प्रधानमन्त्रीको सचिवालय टिम र केही मन्त्री विवादमा परेपछि पार्टीका शीर्ष नेताहरुले सचिवालयको बैठक माग गरे । जनस्तरमा पार्टी र सरकारप्रति आक्रोश उत्पन्न भएकाले यसले पार्टी र सरकार दुवैलाई गम्भीर हानि पुग्ने भन्दै सचिवालय सदस्यहरु झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतले बैठकको माग गरे । तर, एक हप्ताको समयमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच जम्मा दुई पटक भेटघाट भएको छ ।
सरकारका कामको विषयलाई लिएर पार्टीभित्र अन्तर्विरोध बढ्दै गएको छ । पार्टीका कतिपय केन्द्रीय सदस्यहरुले स्वास्थ्य मन्त्रालयबाट भएको स्वास्थ्य सामग्री खरिद प्रकरण र सेनालाई स्वास्थ्य उपकरण खरिद गर्न दिएको विषयलाई लिएर सरकारको आलोचना सार्वजनिक गर्न थालेका छन् ।
यही बीच दाहालले पूर्वमाओवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई बोलाएर शुक्रबार छलफल गरेका थिए । स्रोतका अनुसार उनीहरुबीच लामै छलफल भएको थियो । नेपाली सेनालाई स्वास्थ्य उपकरण तथा औषधि खरिद गर्ने जिम्मेवारी दिनेदेखि क्राइसिस म्यानेजमेन्ट समितिको कार्यालय सेनाको ब्यारेकमा राखेको विषयमा समेत छलफल भएको थियो । गत पुसमा सम्पन्न पार्टी स्थायी कमिटीको बैठकले पार्टीभित्र गुट भेला नगर्ने निर्देशन दिएविपरीत उनले आफू पक्षीय मन्त्री र नेताहरुलाई बोलाएर छलफल गरेका हुन् ।
दाहालले दैनिकजसो पार्टीका वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतमसँग टेलिफोनमा कुराकानी गरिरहेका छन् । ‘दाहालले सम्पर्क गरिरहनुभएको छ । स्वास्थ्य उपकरण खरिदलगायतको विषयलाई लिएर पार्टी र सरकार दुवैको आलोचना भएको छ । यस्तो बेलामा पार्टी शीर्ष नेतृत्व मौन बस्नुहुन्न भनेका छौं’– सचिवालयका एक सदस्यले भने ।
गत मंसिर १ मा दाहाललाई कार्यकारी अध्यक्षको हैसियत प्राप्त भएको थियो । उनलाई सचिवालय बैठक राख्ने र पार्टीको जिम्मेवारी हेर्ने अधिकार भए पनि उनले एक्लै बैठक बोलाउन नसक्नु पनि यतिबेला तनाव थपिने विषय बनेको हो ।
कोरोना महामारी रोक्न सफल भएकामा चिनियाँ राष्ट्रपति सी जिनफिङलाई अध्यक्ष दाहालले २६ मार्चमा बधाईपत्र पठाएका थिए । त्यस विषयमा पार्टीका अर्का अध्यक्ष ओलीसँग छलफल भएको थिएन । ‘सो पत्र पठाउँदा आफूसँग छलफल नै नगरेको भन्दै प्रधानमन्त्री ओली असन्तुष्ट छन्’– स्रोतले भनेको खबर टपेन्द्र कार्कीको बाइलाइनमा सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।