भारत तथा तेस्रो मुलकबाट आएका व्यक्तिहरुको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण गर्दा बाग्मती प्रदेशका तीन जिल्लाका ६ जनामा कोरोनाभाइरस पोजेटिभ देखिएको छ । शङ्कास्पद बिरामीहरुको आरडीटी परीक्षण गर्दा धादिङ, काठमाडौं र काभ्रेपलाञ्चोकका ६ जनामा पोजेटिभ पाइएको हो ।
हालसम्म बाग्मती प्रदेशका विभिन्न जिल्लामा गरी ९०७ जनाको आरडीटी परीक्षण गरिएकामा काठमाडौंका ३ जना, काभ्रेका २ जना र धादिङका १ जनामा कोरोनाभाइरस पोजेटिभ पाइएको बाग्मती प्रदेश अस्पताल विकास तथा चिकित्सा सेवा निर्देशनालयका निर्देशक डा. पुरुषोत्तमराज सेढाईंले जानकारी दिए ।
उनका अनुसार काठमाडौंका ३ जनामध्ये २ जनाको स्वाब परीक्षण (पीसीआर टेस्ट) गर्दा समेत पोजेटिभ रिपोर्ट आएको छ । काठमाडौंका एकसहित काभ्रे र धादिङका गरी ४ जनाको पीसीआर टेस्ट गर्न बाँकी रहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता समेत रहेका सेढाईंले बताए ।
धादिङको ज्वालामुखी गाउँपालिकाका २७ वर्षीय पुरुष मङ्लबार र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको हो । उनी दक्षिण कोरियाबाट फागुन २० मा फर्किएका हुन् । आरडीटी परीक्षण गर्दा काभ्रेपलान्चोको मण्डन देउपुर गाउँपालिकाका २३ वर्षीय पुरुष र अर्का बेथानचोक गाउँपालिका २८ वर्षीय पुरुषको पनि पोजेटिभ रिपोर्ट आएको मन्त्रालयले जनाएको छ ।
मण्डन देउपुर गाउँपालिकामा पोजेटिभ देखिएका व्यक्ति दुबईबाट र बेथानचोकका व्यक्ति भारतबाट फर्किएका हुन् । आरडीटी रिपोर्ट पोजेटिभ आएका काभ्रे र धादिङका तीनै जनालाई आइसोलेसनमा राखिएको छ । उनीहरुको पीसीआर परीक्षण गर्न बाँकी छ ।
यसैबीच, मङ्गलबार पर्सा जिल्लाका ३८ र मकवानपुरका १ गरी ३९ जनाको स्वाब परीक्षणका लागि कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित कोरोना प्रयोगशालामा ल्याइएकामा २१ जनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ प्राप्त भएको छ । बाँकीको स्वाब परीक्षणकै क्रममा छ ।
कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित कोरोना प्रयोगशालामा हालसम्म १ सय ५४ जना शङ्कास्पद बिरामीको स्वाब परीक्षण गरिएकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा समेत परीक्षण गर्दा ३ जनाको रिपोर्ट पोजेटिभ र बाँकीको नेगेटिभ रिपोर्ट प्राप्त भएको खबर राममणि दाहालको बाइलाइनमा गोरखापत्र अनलाइनमा बुधबार प्रकाशित छ ।