प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष खड्गप्रसाद ओलीले एक पद छाड्नैपर्ने मुद्दा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले उठाउने भएको छ । २५ वैशाखमा बस्ने सत्तारुढ नेकपाको स्थायी कमिटीको बैठकमा नेपाल पक्षको अडान ‘ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पदबाट राजीनामा दिनुपर्ने’ कायमै रहने भएको हो ।
शनिबार बसेको नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘आत्मालोचना’ गर्दै पार्टी र सरकारको काम प्रभावकारीरुपमा अघि बढाउने निर्णय गरेको एक दिन नबित्दै आइतबार छुट्टै भएको नेपाल पक्षको भेलापछि यस्तो निष्कर्ष निकालिएको खबर सोमबारको राजधानी दैनिकमा प्रकाशित छ ।