वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा रहेका र कोरोनाभाइरसका कारण अलपत्र परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश ल्याउन सरकारले आन्तरिक तयारी गरिरहेको छ ।
नेपाली श्रम रोजगार पत्रकार समूहले सोमबार ‘कोभिड– १९ का कारण विदेशमा अलपत्र श्रमिकको व्यवस्थापनमा सरकारको आगामी योजना’ विषयमा आयोजना गरेको भर्चुअल अन्तर्क्रियामा अप्ठ्यरोमा परेका नेपालीको पहिचान गरेर प्राथमिकताका आधारमा स्वदेश ल्याइने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशमा बताए ।
अन्तर्राष्ट्रिय उडान बन्द रहेकाले उनीहरूलाई कुन मितिमा ल्याउने, भन्न सकिने अवस्था नरहेको परराष्ट्रमन्त्री ज्ञवालीले स्पष्ट पारे । उनले भने– ‘जहाँसुकै रहेका नेपालीसँग हाम्रो भावनात्मक सम्बन्ध छ, अहिले धेरै कुरालाई योजना बनाएर मात्रै काम गर्नुपर्छ, कसरी फर्काउने र नेपालको श्रम बजारमा उहाँहरूको कसरी व्यवस्थापन गर्ने भन्नेबारे गहन छलफल गरेका छौं ।’
विदेशमा अलपत्र नेपाली श्रमिकको स्वदेश फिर्ती र व्यवस्थापनसम्बन्धी यो खबर सीता शर्माको बाइलाइनमा मंगलबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।